नेपालगन्ज ।
बैजनाथ गाउँपालिकामा प्रस्ताव गरिएको नौबस्ता औद्योगिक क्षेत्रभित्र रहेको बस्ती र औद्योगिक क्षेत्रको पुनः नक्सांकनको काम सुरु गरिएको
छ । सोमबारदेखि ड्रोन प्रयोग गरेर सर्भे गर्ने काम सुरु गरिएको आयोजना प्रमुख प्रकाश केसीले बताए ।
उनका अनुसार करिब २० दिनसम्म बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सर्भे हुनेछ । यसले जग्गा यकिन गर्न सहयोग पुग्नेछ । प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेको बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३ सय ३८ बिघा क्षेत्रफल जमिनभित्रै २ सय ६८ स्थानीयले घरटहरा बनाएका छन् ।
बस्ती व्यवस्थापन हुन नसक्दा हालसम्म निर्माण कार्य सुरु गर्न नसकिएको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
पटक–पटक प्रयास गरे पनि जग्गा अतिक्रमण हटाउन नसक्दा हालसम्म पनि औद्योगिक क्षेत्र परियोजनाको काम अगाडि बढाउन सकिएको छैन ।
अवरोधकै कारण परियोजनाको काम सुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने क्रम पनि बढेको पाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्यांकमा २ सय ६८ घर टहरा रहे पनि त्यहाँ बसोबास गर्दै आएका स्थानीयले सो संख्या बढेको बताएका छन् ।
सरकारले गत आर्थिक वर्षमा नौबस्ता औद्योगिक क्षेत्रमा जग्गा विकास कार्य गर्न ७५ करोड, वन व्यवस्थापनका लागि २ करोड र प्रशासकीय भवन निर्माणका लागि १ करोड विनियोजन गरेको थियो । तर, काम सुरु नहुँदा सो रकम अन्यत्र रकमान्तर गरिएको थियो ।
आगामी आर्थिक वर्षका लागि पनि सरकारले सो औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन गरे पनि काम हुने नहुने केही पनि निश्चित नरहेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्