11 September 2024  |   बुधबार, भदौ २६, २०८१

कोहलपुर नगरपालिकाद्वारा सिग्देलको अध्यक्षतामा वाङ्मय सभा गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर १३, २०८०  

बाँके ।

कोहलपुर नगर कार्यपालिकाको ३४औं बैठकले कोहलपुरमा वाङ्मय सभा गठन गर्ने निर्णय गरेको छ । बैठकले पहिलोपटक कोहलपुरमा केशव सिग्देलको अध्यक्षतामा वाङ्मय सभा गठन गर्ने निर्णय गरेको हो ।

कोहलपुर वाङ्मय प्रतिष्ठान ऐन, २०७९ को दफा ७ बमोजिम क्षेत्रगत विधा एवं समूहको प्रतिनिधित्व गर्ने गरी वाङ्मय सभा गठनको निर्णय गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

सभाको सदस्यहरूमा अन्जु न्यौपाने, वीरेन्द्र सिंह, सुमित्रा न्यौपाने, राम सहाय प्रेमी, सागर गैरे, खोपीराम वली, उत्सव काफ्ले र शेखर दहित रहेका छन् । कार्यपालिका बैठकले गठन गरेको कार्यसमितिबाट एक जना सदस्य–सचिव तोकिने नगर प्रमुख आचार्यले जानकारी दिए ।

‘उहाँहरू बैठक बसेर गठन गरिएको कार्यसमितिबाटै एक जनालाई सदस्य–सचिव तोकेर अध्यक्षज्यूले हामीलाई जानकारी गराउनुहुन्छ,’ नगर प्रमुख आचार्यले मिसन टुडेसँग भने, ‘कोहलपुर वाङ्मय प्रतिष्ठान ऐन, २०७९ बनाएका थियौं । सोहीअनुसार नै कार्यपालिकाबाट निर्णय गरेर वाङ्मय सभा गठन भएको हो ।’

कोहलपुरको भाषा, साहित्य, कला, संस्कृति संरक्षणमा वाङ्मय सभाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । ‘कोहलपुरको भाषा, साहित्य, कला, संस्कृति संरक्षणमा वाङ्मय सभाले भूमिका खेल्छ र खेल्नुपर्छ’ नगर प्रमुख आचार्यले भने, ‘काठमाडौंको प्रज्ञा प्रतिष्ठान जस्तै हामीले कोहलपुरमा वाङ्मय सभा गठन गरेका हौं ।’

चालु आर्थिक वर्षमा समेत कोहलपुरको कला साहित्यका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । वाङ्मय सभा योजना बनाएर अगाडि बढेपछि कार्यालय र बजेटसमेत व्यवस्थापन नगरपालिकाले गर्नेछ ।

‘सभाले आगामी योजना बनाएर अब अगाडि बढ्छ,’ नगर प्रमुख आचार्यले भने, ‘कला साहित्य क्षेत्रका सबै क्षेत्रलाई समेटेर सभा गठन गरिएको छ । कोहलपुर नगरपालिकाले कला र साहित्यको क्षेत्रमा गर्ने कामहरू यहीमार्फत हुनेछन् ।’

नवनिर्वाचित अध्यक्ष सिग्देलले नगरभित्रका भाषा, साहित्य, कलाको प्रवद्र्धनका साथै स्थानीय भाषाभाषीका रचनाहरूको अुनवादमा आफूले जोड दिने बताए ।

‘स्थानीय भाषाका कतिपय राम्रा रचनाहरू अनुवाद हुन नसकेर पढिएका छैनन्,’ अध्यक्ष सिग्देलले भने, ‘तिनीहरूलाई अनुवाद गरेर प्रकाशन गर्ने र प्रवद्र्धन गर्ने काम गर्छौं ।’ राष्ट्रिय स्तरका संघसंस्थाहरूसँगको सहकार्यमा यहाँको भाषा, साहित्य र कलालाई अगाडि बढाउन पहल गरिने पनि उनले जनाए ।

त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका प्राध्यापक सिग्देल एक जना कवि पनि हुन् । उनका दुई कविता कृति प्रकाशित छन् ।

अन्तर्राष्ट्रिय संस्था वल्र्ड पोयट्री मुभमेन्टको सचिवालय सदस्य रहेका सुवेदीले विशेषगरी कविताका क्षेत्रमा काम गर्दै आएका छन् । उनले हालै विभिन्न १ सय १ देशका २ सय ९७ कविका ‘म्याडनेस’ शीर्षकमा लेखिएका कविताहरूको संकलन तथा सम्पादन गरेका छन् ।

 

प्रकाशित मितिः बुधबार, मंसिर १३, २०८०     7:33:08 AM  |