अपांगमैत्री संरचना नहुँदा सास्ती



गणेश रावत । कोहलपुर ।

बाँके बैजनाथ गाउँपालिका–१ का शैलेन्द्र बुढा द्वन्द्वपीडित हुन् । उनी जनयुद्धका कारण घाइते तथा शारीरिक रूपमा अपांगता भएर बाँचिरहेका छन् । जसको कारण उनलाई घरदेखि सार्वजनिक स्थलसम्म पुग्न असहज हुने गरेको छ । त्यसमाथि कोहलपुरमा अपांगमैत्री संरचना नहुँदा जताततै असहज अनुभव गर्नुपरेको उनले बताए ।

कोहलपुर नगरपालिकामा अपांगतामैत्री संरचना नहुँदा अपांगता भएका व्यक्तिहरूले विभिन्न समस्या भोग्दै आउनुपरेको छ । नगरपालिकाभित्रका सरकारी भवन, बाटो, शौचालयलगायतका सार्वजनिक स्थल अपांगमैत्री छैनन् । यसबाट बुढाजस्ता अपांगता भएका व्यक्ति कष्ट सहन बाध्य छन् ।

बुढाजस्तै मीरा कार्कीको समस्या पनि उस्तै छ । उनी पनि अपांगता भएकी महिला हुन् । नेपाल सरकारले अपांगता भएका व्यक्तिका लागि अपांगतामैत्री संरचना बनाउने भने पनि कोहलपुरमा यस्ता संरचना बन्न सकेका छैनन् । भवन, बाटो र शौचालयहरू अहिले पनि अपांगमैत्री नबन्दा आवतजावतमा असहज हुने गरेको कार्कीले गुनासो गरिन् ।

कोहलपुरमा मात्रै नभई बाँके जिल्लाभर अपांगमैत्री संरचना निर्माण हुन नसकेको उनीहरूको भनाइ छ । संघीयता आएपछि घरघरमा सिंहदबार भन्ने नाराले खुबै चर्चा पायो । तर, यसको महसुस गर्न नसकेको अपांगता भएका व्यक्तिहरूले गुनासो गरेका छन् ।

शैलेन्द्र र मीरा एउटा उदारण पात्र मात्र हुन् । उनीहरूजस्ता अपांगता भएका १ हजार हाराहारीले अपांगतामैत्री भवन, शौचालय र संरचना नहँुदा यस्ता समस्या भोग्दै आएका छन् । सरकारी तथा गैरसरकारी कार्यालय जाँदा अपांगतामैत्री शौचालय नहुँदा दिसा–पिसाब गर्नसमेत कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ ।

पछिल्लो समय बग्रेल्ती खुलेका बैंकहरूले पनि अपांगतामैत्री कार्यालय निर्माणमा ध्यान दिएका छैनन् । यस्ता कार्यालय अपांगतामैत्री नहुँदा सिँढी चढ्न र सेवा लिन पनि असहज हुने गरेको अपांगता भएका व्यक्तिहरूको गुनासो छ । आगामी दिनमा स्थानीय सरकारले निर्माण गर्ने सरकारी तथा गैरसरकारी कार्यालय, बाटो र शौचालय अपांगतामैत्री बनाइदिन उनीहरूले सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरले अपांगता भएका व्यक्तिहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा अपांगता भएका व्यक्तिले स्थानीय सरकारले अपांगताका समस्या बुझेर समाधन गर्न र स्वरोजगार बनाउन तालिमको व्यवस्थापन गरिदिन माग गरेका थिए ।

सहजरूपमा हिँडडुल गर्नका लागि सहायक सामग्री उपलब्ध गराउन पनि उनीहरूले सरोकारवालाहरूको ध्यानाकर्षण गरेका थिए । अपांगता भएका व्यक्तिका लागि नीति नियम बने पनि कागजमै सीमित भएको उनीहरूको गुनासो थियो । घरदेखि शौचालय जाँदा पनि अपांगता भएका व्यक्तिहरूलाई असहज हुने गरेको अपांग नवजीवन केन्द्र कोहलपुरका अध्यक्ष जंगबहादुर डाँगीले बताए ।

‘हामीले यस विषयमा विभिन्न ठाउँमा कुरा उठायौंं तर सुनुवाइ भएन,’ अध्यक्ष डाँगीले भने, ‘आगामी दिनमा अपांगतामैत्री, बालमैत्री र महिलामैत्री भवन तथा संरचना निर्माण गरिदिन आग्रह गर्दछु ।’

विगतमा भवन, बाटोलगायत संरचना बनाउँदा अपांगमैत्री नबन्नुमा कहीँकतै चुकेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष मधु खड्काले क्षमा मागिन् । उनले आगामी दिनमा बाँकेमा बन्ने जति पनि संरचना छन् ती अपांगमैत्री हुने प्रतिबद्धता समेत जनाइन् ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ११ गते सोमबार