बाँके ।
लागूऔषध ब्राउनसुगरसहित बर्दिया प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्या प्रसाद धोबी रहेका छन् ।
इलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
दुवै जनालाई बढैयाताल गाउँपालिका–८ पशुपति बजारबाट लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार भे३प ८३७१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा लागूऔषध बरामद भएको थियो ।
उनीहरूको साथबाट १४ ग्राम ९ सय ७० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ बरामद भएपछि पक्राउ गरिएको बर्दिया प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई बर्दिया जिल्ला अदालतबाट हिरासतमा राख्नका लागि अनुमति लिएर लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्