8 September 2024  |   आइतवार, भदौ २३, २०८१

दुर्गा प्रसाईका समर्थकको नेपालगन्जमा प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर ८, २०८०  

नेपालगन्ज ।

मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार काठमाडौं केन्द्रित प्रदर्शन गर्दा त्यसको असर बाँकेमा पनि देखिएको छ । काठमाडौँमा प्रदर्शन भइरहँदा नेपालगन्जमा समेत उनका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ लेखिएको ब्यानर बोकेर न्युरोड र धम्बोझी चोकमा प्रदर्शन गरिएको थियो । प्रदर्शन गर्नेहरू स्पष्ट नखुले पनि उनीहरूको ब्यानरको एकातर्फ पूर्वराजा ज्ञानेन्द्र शाह र अर्कोतर्फ दुर्गा प्रसाईंको तस्बिर राखिएको थियो । प्रसाईंको आन्दोलनमा बाँकेका केही व्यवसायीहरू समेत सहभागी हुन काठमाडौँ गएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटबल हुँदै देशका विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ । सो अभियानले आर्थिक अन्याय र बेथितिका विरुद्ध काठमाडौँमा प्रदर्शन गर्न लागेको प्रसाईंको दाबी छ तर कतिपयले व्यवस्थाविरोधी आन्दोलनले अराजकता मात्रै ल्याउने बताएका छन् ।

नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनुपर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्नेलगायतका १३ बुँदे माग सो अभियानको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ८, २०८०     8:36:41 AM  |