नाकाबासीको आम्दानी स्रोत ‘वनकस’



बर्सेनि डढेलोका कारण खेर जाने गरेको वनकस संकलन गरेर राजपुर गाउँपालिका–७ मनौरा, सानी मनौरा, भौवा नाकाका स्थानीयले मनग्य आम्दानी गर्न थालेका छन् । उनीहरूले खेर गइरहेको वनकस संकलन गरेर डोरी बनाएर बिक्री गर्छन् । मनौरा, सानी मनौरा, भौवा नाकाका स्थानीयको आम्दानीको स्रोत अहिले जंगलमा खेर गइरहेको वनकस बनिरहेको छ ।

शिवु खनाल । दाङ ।

भारतसँग सीमा जोडिएको नेपाली पहाडमा लहरै (बाबियो) वनकस देखिन्छन् । वनमा उत्पादन भएका वनकस बर्सेनि डढेलोका कारण खेर जाने गर्दछ । राजपुर गाउँपालिका–७ मनौरा, सानी मनौरा, भौवा नाकामा चुरेको भागले घेरका पहाड देख्न सकिन्छ । तिनै चुरे पहाडमा माथि फिँजिएका छन् वनकस । निकै हरियाली भएकाले टाढाबाट झट्ट हेर्दा जोकोहीले अनुमान पनि लगाउन सक्दैन यो वनकस हो भन्ने ।

बर्सेनि डढेलोका कारण खेर जाने गरेको वनकस संकलन गरेर मेसिनबाट डोरी बाटेर राजपुर गाउँपालिका–७ मनौरा, सानी मनौरा, भौवा नाकाका स्थानीयले मनग्य आम्दानी गर्न थालेका छन् । उनीहरूले यसलाई व्यावसायिक रूप दिएका छन् ।

सीमावर्ती क्षेत्रमा डोरी बाट्ने व्यवसाय सुरु गरिएको हो । राजपुर गाउँपालिका–७ मनौरा नाका निवासी प्रेमबहादुर घर्तीमगरले नाकामा पहिलोपटक मेसिन खरिद गरी विगत ६ वर्षदेखि डोरी उत्पादन गरी बिक्री गर्दै आएका छन् । उनकै प्रेरणा पाएर अहिले भारतसँग सीमा जोडिएका दाङका विभिन्न नाकामा बसोबास गर्ने स्थानीयले व्यावसायिक रूपमा डोरी उत्पादन गर्न थालेका छन् ।

प्रेमले पहिलोपटक डोरी बाट्ने मेसिनका बारेमा सुने । त्यसप्रति उनको आकर्षण बढ्यो । थोरै लगानीमा नयाँ व्यवसाय र यसबाट मनग्य आम्दानी हुने बुझेपछि घर्तीले मेसिन किन्ने सोच बनाए । कसरी लगाउने ? के गर्ने ? भन्नेबारे उनलाई जानकारी थिएन । त्यही बेला उनी भारतका केही मेसिन व्यापारीसँग जोडिए । मगरले भारतीय व्यापारीबाट मेसिन सञ्चालनबारे जानकारी लिए । उनले मेसिन खरिद गरे । र, २०७४ साल भदौबाट उनी व्यावसायिक रूपमै डोरी उत्पादनमा लागे ।

‘मैले सुरुदेखि अहिलेसम्म १२ हजार मात्रै लगानी लगाएको छु । परिवार मिलेर काम गर्ने गरेका छौँ,’ उनले भने, ‘अहिले हेर्न र किन्न भनेर धेरै जना आउनुहुन्छ । सबैलाई डोरी उत्पादनबारे जानकारी दिएर पठाउने गरेको छु ।’

भदौदेखि वैशाख जेठसम्म वनकस काटेर एक ठाउँमा घाटगद्दी गर्ने गरिएको उनले बताए । उनका अनुसार वर्षमा मात्र उनले २० क्विन्टल डोरी उत्पादन गरेका छन् । ‘खेर जाने वनकस संकलनबाट डोरी उत्पादन गरी बिक्री गर्दा राम्रो उत्पादन तथा आम्दानी भएको छ,’ घर्तीले भने ।
उत्पादन भएको डोरी भारतीय बजारमा लगेर बिक्री गर्ने गरिएको उनले जानकारी दिए ।

अहिले डोरीको प्रतिकेजी १८ रूपैयाँ दर कायम गरिएको छ । ‘हामीले वार्षिक २० क्विन्टल डोरी बिक्री गरिसकेका छौँ,’ उनले भने । वनमा फेरि वनकस उत्पादन हुने बेला भएको छ । उनका अनुसार सीमावर्ती गाउँहरूमा स्थानीयले वर्षमा करिब ६० क्विन्टल डोरी उत्पादन गर्ने गरेका
छन् ।

राजपुर गाउँपालिका–७ का घर्ती, भौवा नाका निवासी शिवप्रसाद सार्की, मनौरा नाकाका वीरबहादुर बुढा र खिमबहादुर पुनले पनि गाउँमै डोरी उत्पादन गर्दै बिक्री गर्ने गरेका छन् । वर्षमा हरेकले करिब ४० हजार रूपैयाँ चोखो आम्दानी गर्ने गरेको उनले बताए ।

नेपाली बजारमा बिक्री गर्न जानका लागि गतिलो बाटो नभएकाले नजिकै रहेको भारतीय बजारमा लगेर डोरी बिक्री गर्ने गरिएको उनीहरूको भनाइ छ । ‘यसमा लगानी भनेको मेहेनत हो, अन्य लगानी धेरै छैन,’ घर्तीले भने ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार