24 June 2024  |   सोमवार, असार ११, २०८१

बाँकेमा सर्वाधिक कर तिर्ने सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर ८, २०८०  

नेपालगन्ज ।

आर्थिक वर्ष २०७८/७९ मा बाँकेमा धेरै कर बुझाउने तीन फर्मलाई १२औँ कर दिवसका अवसरमा बिहीबार आन्तरिक राजस्व कार्यालय नेपालगन्जले सम्मान गरेको छ । सेवातर्फ उपकार लद्युवित्त वित्तीय संस्था लिमिटेड, उद्योगतर्फ जयबागेश्वरी मोल्डिङ उद्योग र सेवा क्षेत्रबाट पञ्चकोशी सप्लायर्स सम्मानित भएका हुन् ।

सेवातर्फ सम्मानित भएको उपकार लद्युवित्त महिलाहरूले मात्रै सञ्चालन गरेको उदाहरणीय वित्तीय संस्था हो । सो लघुवित्त हरेक कर दिवसमा सेवा क्षेत्रबाट सम्मानित हुँदै आएको छ । संस्थाकी अध्यक्ष शान्ति ढकाल र सिइओ शारदा पोखरेलले प्रमाणपत्र ग्रहण गर्दै प्रशन्नता व्यक्त गरे । कर दिवसकै अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा अतुलकुमार शर्मा पुरस्कृत भए ।

सरकारले मंसिर १ गतेदेखि साताव्यापीरूपमा कर दिवस मनाउँदै आएको छ । सोही अवसरमा बिहीबार समापन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र प्रमुख कर अधिकृत सुदिशकुमार अर्याललगायतका अतिथिले सम्मानित हुने फर्म एवम् व्यावसायीक प्रतिष्ठानलाई प्रमाणपत्र र दोसल्ला ओढाएका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलसहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेल, घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु पौडेल, अडानका केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खान, आइक्यानका सिए तेजप्रकाश दीक्षितलगायतले बोलेका थिए । उनीहरूले कर प्रशासनलाई सरल र सहज बनाउन जोड दिँदै करको दायरामा आउन नसकेकालाई ल्याउनुपर्नेमा जोड दिए ।

सरोकारवाला निकायले चिकित्सक, इन्जिनियर, कानुन व्यवसायीलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । अडानका केन्द्रीय उपाध्यक्ष खानले यी क्षेत्र अझै करको दायरामा आउन नसकेको बताउँदै भने, ‘कर तिर्नेले तिरेको ति¥यै, नतिर्नेलाई हाइसञ्चो हुनु भएन ।’ सबैलाई कर र कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

खानले बजारमा नक्कली अडिटर समेत देखिएको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् । त्यस्ता अडिटरबाट अडिट गर्दा कुनै दिन व्यवसायी मारमा पर्न सक्ने उल्लेख गर्दै खानले भने, ‘त्यस्तो मूल्य चुकाउनुभन्दा पहिल्यै हामी सावधान हुनुपर्छ ।’

प्रमुख जिल्ला अधिकारीले करका विषयमा कानुन तोड्नेलाई कुनै पनि निकायले उन्मुक्ति दिन नसक्ने बताए । उनले समयसापेक्ष करप्रणालीको पनि विकास भइरहेको जनाए ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ८, २०८०     7:42:49 AM  |