बाँके ।
जाडो छल्न चराहरू विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । बर्दियाको बढैयाताल, कैलालीको घोडाघोडी, सुनसरी, सप्तरी र उदयपुरको सङ्मस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ ।
बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको संख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए । जाडो छल्न र बच्चा कोरल्न चराहरूको आकर्षक गन्तव्य नेपाल हो । तर हजारौँको संख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को संख्या घट्दो क्रममा रहेको प्रमुख गौतमले बताए ।
‘नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरि नै नेपालमै रहन्छन् भन्ने हुँदैन,’ बर्ड वाचिङ क्याम्प कोशीटप्पुका सञ्चालक कुरमान मन्सुरीले भने, ‘नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइ वर्षभरि नै निरन्तर चलिरहन्छ ।’
मन्सुरीका अनुसार कोशीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ । वातावरण पत्रकार रामचन्द्र अधिकारीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ ।
उनका अनुसार बेतना सिमसारमा ४९ प्रजातिका ३० परिवारका चार सयको संख्यामा चरा छन् । जसमध्ये ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा हुन्छन् ।
जसमध्ये खैरो टाउके फिस इगल र लेचर स्ट्रक जातका चरा आइएनसियुको खतराको सूचीमा रहेको उनले बताए । ‘कोशीटप्पुमा आउने प्रायजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्,’ उनले भने । विशेष गरी मंसिरदेखि फागुन महिनासम्म विदेशी चरा बेतना सिमसारमा बस्ने अधिकारी बताउँछन् ।
उत्तरी ध्रुवमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँ सरी आउने गर्दछन् ।
बर्सेनि करिब १ सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्यांक छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलंकातिर जाने गर्छन् । नेपाल आउने अन्यमा चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि
छन् ।
जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदी क्षेत्रमा नै प्रायः रहन्छन् ।
जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भ्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउँछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश कोइली प्रजातिको हुन्छ ।
नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरू चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ ।