बाँके प्रहरीलाई क्युआरबाटै सूचना



बाँके ।

नागरिकसँग सहज रूपमा जोडिन जिल्ला प्रहरी कार्यालय बाँकेले प्रविधिको प्रयोग थालेको छ । प्रहरीले दिने सेवा र सूचना संकलनका लागि समेत बाँके प्रहरीले बुधबारदेखि प्रविधिको प्रयोग थालेको हो ।

सहज रूपमा आम नागरिकसँग जोडिनका लागि पहिलोपटक बाँकेमा क्युआर कोडको प्रयोग थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराले जानकारी दिए ।

‘जनतासँग कम्युनिकेसन गर्नका लागि नै हामीले प्रविधिको प्रयोग गरेका हौँ । पहिलोपटक अभ्यासमा ल्याएका छौँ,’ उनले मिसन टुडेसँग भने, ‘यसको प्रभावकारिता कस्तो देखिन्छ । त्यो हेरेर आगामी दिनमा अगाडि बढ्छौँ ।’

सोही अवधारणअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार आफ्नो फेसबुक पेजमार्फत क्युआर कोडसमेत सार्वजनिक गरेको थियो ।
एसपी बोहराले क्युआर कोड बुधबारदेखि नै प्रयोगमा आइसकेको जानकारी दिए । उनका अनुसार नागरिकले प्रहरीले दिइरहेको सेवासम्बन्धी गुनासो तथा सुझावहरू भए क्युआर कोड मोबाइलमा स्क्यान गरेर दिन सक्नेछन् ।

‘अब आफूसँग भएको सूचना तथा घटनाबारे समेत नागरिकले आफू भएकै स्थानबाट मोबाइलमा क्युआर कोड स्क्यान गरेर जानकारी दिन सक्छन्,’ एसपी बोहराले भने, ‘प्रहरीसम्बन्धी केही गुनासा र सुझाव भएसमेत त्यसैगरी दिन सकिन्छ ।’

प्रविधिको प्रयोगले फास्ट ट्र्याकबाट प्रहरीसम्म घटनाबारे तत्काल जानकारी र सूचनाहरू पुग्ने लक्ष्य बाँके प्रहरीले राखेको छ ।
‘विभिन्न तह भएर हामीसम्म घटनाबारे जानकारी र सूचना पुग्न केही समय लाग्छ,’ उनले मिसन टुडेसँग भने, ‘क्युआरको प्रयोगले फास्ट ट्र्याकबाट सूचना आइपुग्छ ।’

एसपी बोहराका अनुसार क्युआर कोडमार्फत सूचना दिने व्यक्तिको गोपनीयता समेत गोप्य राखिनेछ ।

क्युआर कोड स्क्यान गरेर पठाइएका सूचनाहरू अहिलेलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा हेर्ने व्यवस्था मिलाइएको छ । त्यहाँ एपमार्फत पुगेका सूचनाहरूलाई आवश्यताअनुसार प्रहरीले जिल्लाभर नै पठाउनेछ ।

क्युआर कोडको प्रयोग गरेर नागरिकहरूले गोप्य रूपमा आफ्नो घर वरपर भएका कानुनविपरीतका गतिविधिहरूको सूचनासमेत दिने प्रहरीले अपेक्षा लिएको छ ।

‘कतिपय अवस्थामा नागरिकहरू आफूसँग भएको सूचना दिनसमेत प्रहरी कार्यालयसम्म पुग्दैनन्,’ एसपी बोहराले भने, ‘क्युआर कोडबाट दिएको सूचना गोप्य रहने हुँदा त्यस्ता सूचनासमेत प्रहरीसम्म पुग्न सक्छन् ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले सुरक्षाप्रतिको विश्वास बढाउन, नागरिकसँग नजिक हुन, नागरिकलाई सहज सेवा प्रदान गर्न र नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस् भनेर सेवा सुरु गरिएको बताए ।

‘नागरिकलाई सुरक्षाप्रतिको विश्वास बढाउनुका साथै सहज सेवा प्रदान गर्न सहज होस् भनेर प्रविधिको प्रयोग गरेका हौँ,’ उनले मिसन टुडेसँग भने, ‘जिल्लाका विभिन्न स्थानमा क्युआर कोड राखिएको छ । त्यसलाई मोबाइलमा स्क्यान गरेर सूचना, गुनासा र सुझावहरू पठाउन
सकिन्छ ।’

बाँके प्रहरीका अनुसार नागरिकले आफूलाई आइपरेका समस्याहरूबारे समेत तत्कालै मोबाइलमै क्युआर स्क्यान गरेर प्रहरीलाई खबर गर्न सक्छन् । केही समय एपको प्रभावकारिता हेरेर पछि क्रमशः मातहतका मुद्दा चल्ने प्रहरी कार्यालयलाई समेत पहुँच दिइने जिल्ला प्रहरी कार्यालय बाँकेले तयारी गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ७ गते बिहीबार