आजबाट धान खरिद गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्ज



नेपालगन्ज ।

यसवर्ष बाँकेका कृषकहरूले उत्पादन गरेको धान आज बुधबारबाट नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्न लागेको मुख्य शाखा प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

कार्यालयले यस वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । ३३ हजार क्विन्टल मोटा र १८ हजार मध्यम चामल खरिद गर्न लागिएको लामिछानेले बताए । मोटा चामलको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम चामलको मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ६२ कायम गरिएको छ ।

‘बुधबारबाट हामी किसानको धान किन्दै छौँ । पालिकाको सिफारिस लिएर आउने कृषकलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउँछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर कृषकले दुःख पाउने अवस्था रहनेछैन,’ प्रमुख लामिछानेले मिसन टुडेसँग भने, ‘गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस मागेका छौँ ।’

खाद्य संस्थानले प्रतिकृषक ४० क्विन्टलसम्म धान किन्ने योजना बनाएको छ । गत वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य बनाएको कम्पनीले ९ हजार क्विन्टल मात्रै खरिद गर्न सकेको थियो । बजार मूल्यभन्दा बढी मूल्य दिने भएका कारण कृषकहरूले सुरुमा संस्थानमै धान बेच्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ६ गते बुधबार