कोहलपुर ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरले अपांगता भएका व्यक्तिलाई उत्पादन तथा उद्यमशिलतामा जोड्न अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आइतबार कोहलपुर नगरपालिकाभित्र रहेका अपांगता भएका व्यक्तिहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष मधु खड्काले आगामी दिनमा बाँकेमा निर्माण हुने भवन र संरचनाहरू अपांगतामैत्री बनाइने प्रतिबद्धता जनाइन् । अपांगता भएका व्यक्तिहरूलाई उद्यमशिलतामा जोड्दै आत्मनिर्भर बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।
अपांगता भएका व्यक्तिलाई कसरी उद्यमशील र उत्पादनमा जोड्न सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति अध्यक्ष हेमबिक्रम जिसीले बताए ।
एसियाली उत्पादकत्व एपिओ जापानको संयोजत्वमा लाओसमा भएको ‘अपांगता भएका व्यक्तिलाई कसरी उद्यमशील र उत्पादनमा जोड्ने’ भन्ने गोष्ठीमा बाँके जिल्लाको प्रतिनिधित्व गर्दै जिसी सहभागी भएका थिए । कोहलपुर आएलगत्तै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको उनले बताए ।
आफूले ४ दिनसम्म सञ्चालित गोष्ठीका आफ्ना अनुभवलाई उनले अपांगता भएका व्यक्तिहरू सामु साटेका थिए । आफूले देखेको र भोगेका कुरा आत्मसात् गर्दै अपांगता भएका व्यक्तिहरूको सुझाव सल्लाह लिन अन्तरक्रिया गरेको अध्यक्ष जिसीले बताए ।
अब स्थानीय सरकारसँग मिलेर नीति निर्माण गर्ने र संघसंस्थाहरूमा अपांगता भएका व्यक्तिलाई रोजगारी दिलाउने काममा आफूले जोड दिने उनले बताए ।
कार्यक्रममा सहभागी अपांगता भएका व्यक्तिहरूले जिल्लामा अपांगमैत्री संरचना, भवन, शौचालय र बाटो नभएको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्