लक्ष्मीपूजाका दिनमा बाँकेका तीन स्थानमा आगलागी



बाँके ।

आइतबार लक्ष्मीपूजाका दिनमा बाँकेका विभिन्न तीन स्थानमा आगलागी भएको छ ।

एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको थियो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।

खजुरामा रहेको एक पसलमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट सल्केर आगलागी भएको र नेपालगन्ज र राप्तीसोनारीका पसलमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

खजुरा गाउँपालिका– ५ धनौली नजिकै विष्णु वर्माले सञ्चालन गर्दै आएको बर्मा हार्डवेयरमा लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले आगलागी भएको थियो । आगलागीबाट पसलमा ६ लाख बराबरको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौली खजुराका इन्चार्ज प्रहरी निरीक्षक अशोक मल्लले जानकारी दिए ।

नेपालगन्जको घरबारीटोलमा रहेको सौगात इलेक्ट्रो हवमा समेत आइतबार राति आगलागी भएको थियो । ध्रुव दाहालले सञ्चालन गर्दै आएको उक्त पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले आंकलन गरेको छ ।

राति नै प्रहरी र दुईवटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइए पनि पसल जलेर सामानहरु नष्ट भएको छ ।

त्यसैगरी राप्तीसोनारी–४ बैजापुरचोकमा रहेको कमल चौधरीले सञ्चालन गर्दै आउनुभएको एक इलेक्ट्रोनिक पसलमा पनि आगलागी भएको राप्तीसोनारी–४ का वडा अध्यक्ष मीनराज खड्काले जानकारी दिए ।

प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको र पसल जलेर पूर्णरुपमा नष्ट भएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक २७ गते सोमबार