नेपालगन्ज ।
भेरी अस्पताल नेपालगन्जमा कार्यरत डा.राजन पाण्डेले आफ्नो एक महिनाको तलब बराबरको रकम भूकम्पपीडितलाई सहयोग गरेका छन् ।
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घाइते भई भेरी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारमा २४सै घण्टा खटिएका डा. पाण्डेले आफ्नो एक महिनाको तलबबराबरको रकम ६६ हजार रुपियाँ भूकम्पपीडितलाई सहयोग गरेका हुन् ।
निसास्सिएको अवस्थामा अक्सिजन, तिर्खाएको मानिसलाई पानी, भोकाएको अवस्थामा दुई गाँस खाना, जाडोले काँपिरहेको मानिसलाई कम्बलभन्दा माथि कुनै चिकित्सा, पार्टी, वाद वा धर्म नहुने भन्दै पाण्डेले आफ्नो दुई दशक लामो चिकित्सा अनुभवमा आफूले सिकेको पाठको अनुभवबाट प्रेरित भएर भूकम्पपीडितलाई सहयोग गरेको बताए ।
उनले शुक्रबार रूकुम पश्चिमको आठबिसकोट नगरपालिकाको विपद् कोषको खातामा बैंकमार्फत ६६ हजार रुपैयाँ जम्मा गरिदिएका थिए । भूकम्पबाट ठूलो धनजनको क्षति भएको खबर पाएदेखि नै उपचारमा ल्याइएका घाइतेको उपचार र त्यसको व्यवस्थापनमा सक्रिय भएर लागेका डा.पाण्डे भेरी अस्पतालमा प्रमुख कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्