भूकम्पका घाइतेको उपचारमा समस्या नहोस् ः मन्त्री ज्वाला



नेपालगन्ज ।

भेरी अस्पतालमा उपचार गराइरहेका जाजरकोट र रुकुमका भूकम्पपीडितलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भेटेका छन् । बुधबार भेरी अस्पतालमा मन्त्री ज्वालाले घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै चिकित्सकहरूसँग पनि उपचारका बारेमा जानकारी लिए ।

सो अवसरमा उनले घाइतेको उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जनाउँदै उपचारमा कुनै पनि कमी हुन नदिन निर्देशन दिए । मन्त्री ज्वालाले घाइतेको उपचारमा भेरी अस्पतालले देखाएको तदारुकता निकै सराहनीय रहेको जनाउँदै घाइतेहरूको अवस्था सामान्य रहेकोमा खुसी व्यक्त गरे ।

उनले भूकम्पपिडितको उद्धारको काम सकिएको र घाइतेको उपचार विभिन्न अस्पतालमा जारी रहेको जनाउँदै अब सरकारले राहत र पुनर्निर्माणमा केन्द्रित भएर काम सुरु गरेको बताए । भूकम्पमा भत्किएका घरहरूलाई अर्को भूकम्पमा नभत्किने गरी बनाउने सरकारको लक्ष्य रहेको जनाउँदै त्यसका लागि विभिन्न कार्य भइरहेको मन्त्री ज्वालाले बताए ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह, उपचारमा संलग्न चिकित्सकलगायतको उपस्थिति रहेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले हालसम्म उपचारका लागि ५३ जना भेरी अस्पतालमा आएकोमा तीन जना निको भएर घर फर्किसकेको र एक जनाको बाटोमै मृत्यु भएको तथा अहिले ४९ जनाको अस्पतालमा उपचार भइरहेको बताए ।

उनले घाइतेको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलगायत बाँकेका सर्वसाधारणले देखाएको सक्रियता निकै सराहनीय रहेको पनि बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक २३ गते बिहीबार