4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

डा. पाण्डेले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०८०  

नेपालगन्ज ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घाइते भएकाहरूको उपचारमा २४सैं घण्टा खटिएका बाँकेका एक चिकित्सकले आफ्नो एक महिनाको तलब भूकम्पपीडितहरूलाई दिने घोषणा गरेका छन् ।

भूकम्पबाट ठूलो जनधनको क्षति भएको खबर पाएदेखि नै घाइतेको उपचार र त्यसको व्यवस्थापनमा सक्रिय भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले आफ्नो एक महिनाको तलब भूकम्पपीडितलाई दिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले पाउने एक महिनाको तलबबापतको ६६ हजार रूपैयाँ सरकारी च्यानलमार्फत सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले निसासिएको अवस्थामा अक्सिजन, तिर्खाएको मानिसलाई पानी, भोकाएको अवस्थामा दुई गास खाना, जाडोले काँपिरहेको मानिसलाई कम्बल, बेसहारालाई प्रेमको ढाडसभन्दा माथि कुनै चिकित्सा, पार्टी, वाद वा धर्म नभएको उल्लेख गरेका छन् । उनले दुई दशक लामो चिकित्सा अनुभवमा सिकेको पाठ पनि त्यही भएको बताएका छन् ।

‘निसासिएको अवस्थामा अक्सिजन, तिर्खाएको मानिसलाई पानी, भोकाएको अवस्थामा दुई गास खाना, जाडोले काँपिरहेको मानिसलाई कम्बल, बेसहारालाई प्यारको ढाडसभन्दा माथि न कुनै चिकित्सा, पार्टी, वाद वा धर्म छ,’ डा.पाण्डेले लेखेका छन्, ‘दुई दशक लामो चिकित्सा अनुभवमा मैले सिकेको पाठ यही हो । यही अनुभवबाट प्रेरित भएर हालैको भूकम्पपीडितहरूको सहयोगमा मेरो व्यक्तिगततर्फबाट मेरो एक महिनाको तलब बराबर ६६ हजार नेपाल सरकारको सरकारी च्यानलमार्फत सहयोग गर्ने घोषणा गर्दछु ।’

उनी भूकम्पबाट घाइते भएका घाइतेको उपचार तथा व्यवस्थापनमा सुरुदेखि सक्रियरूपमा लागिरहेका छन् ।

प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०८०     8:04:39 AM  |