4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

भूकम्पबाट मृत्यु हुनेमा आधा बालबालिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०८०  

बाँके ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउनेहरूमा आधा बालबालिका रहेका छन् । भूकम्पले सबैभन्दा बढी प्रभावित बनाएको जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेमा करिब आधा बालबालिकाको संख्या रहेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।

प्रतिकार्य शाखाको तथ्यांकअनुसार जाजरकोटमा १ सय १ र रुकुम पश्चिममा ५२ जना गरी १ सय ५३ जनाको भूकम्पमा परेर मृत्यु भएको थियो । तीमध्ये दुई जिल्लामा गरेर ७४ जनाले भूकम्पमा ज्यान गुमाएका छन् ।

जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेमा ४६ जना अर्थात् ४३ प्रतिशत बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष रोकाले जानकारी दिए । रुकुम पश्चिममा २८ अर्थात् ५३ प्रतिशत बालबालिकाले भूकम्पबाट ज्यान गुमाएका छन् ।

भूकम्पमा धेरै बालबालिका पर्नुको पछाडि चाडपर्व मनाउन गाउँ फर्किनु, रातिको समयमा भूकम्प जानु, घरमा महिला, बालबालिका र बुढापाका मात्रै हुनु तथा समयमै उद्धार नभएर उपचार नपाउनु रहेको बताइन्छ । विद्यालयहरूले दसैं–तिहारको बीचमा विद्यालय नखोलेका कारण धेरै बालबालिका सहरबाट गाउँमै गएर बसेका थिए ।

जाजरकोटका डिएसपी रोकाले रातिको समयमा भूकम्प गएकाले धेरै बालबालिकाले ज्यान गुमाउनुपरेको बताए । ‘मध्य निद्रामा परेकाले पनि उनीहरूले भाग्ने समय नै पाएनन्, कतिपयले भूकम्प आएको थाहा नपाएको पनि देखियो,’ उनले भने, ‘भूकम्पमा परी घाइते भएका बालबालिकालाई समयमा उद्धार गर्न नसक्दा धेरैको मृत्युसमेत भयो ।’

रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले गाउँमा बयोवृद्ध र केटाकेटीमात्रै भएकाले पनि भूकम्पबाट ज्यान गुमाउनेमा बालबालिकाको संख्या धेरै भएको हुनसक्ने अनुमान गरे ।

गाउँमा अझै सडक र यातायातको सुविधा पुगिनसकेकाले उद्धारमा समेत समय लागेको उनले बताए । भूकम्पले धेरै क्षति पु¥याएका ठाउँ पुग्न घन्टौं समय लागेको थियो । उद्धार टोली समयमा नपुगेकाले पनि धेरै बालबालिको मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक श्रेष्ठ बताउँछन् । ‘भूकम्पमा पुरिएका बालबालिकालाई तत्काल उद्धार गर्न सकिएन, प्रहरी दुई÷तीन घन्टापछि मात्र पुगेको थियो,’ उनले भने ।

जिल्ला तथा स्थानीय तहमा जनशक्तिको अभाव, सडक अवरूद्ध र घन्टौं पैदल यात्रा गरेर घटनास्थलमा पुग्नुपर्ने बाध्यताले पनि धेरै बालबालिकालाई चाहेर पनि बचाउन नसकिएको उनको दुःखेसो छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले विपद्मा धेरैजसो बालबालिका तथा बूढापाकाको ज्यान जाने गरेको बताए ।

उनका अनुसार विपद्मा बालबालिका तथा बयोवृद्ध छिटो भाग्न सक्दैनन् । कतिपय बालबालिका विपद्मा के गर्ने, के नगर्ने भनेर अलमलमा पर्छन् । उनीहरूलाई अरूले निर्देशन दिनुपर्छ । तर विपद्को समयमा उनीहरूलाई निर्देशन दिने सम्भावना हुँदैन ।

‘शुक्रबारको भूकम्प मध्यरातमा गएको थियो । जसले गर्दा सुतिरहेको अवस्थाबाट उठेर भाग्न केही सेकेन्ड लाग्छ । त्यसबीचमा बाहिर निस्किन नसकेकाले धेरैको ज्यान गएको हुनसक्छ,’ प्रवक्ता खड्काले भने, ‘दिउँसोको समयमा आएको भए यति धेरै बालबालिकाको ज्यान जाने थिएन ।’

राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्द आपत्विपद्मा हरेक व्यक्तिले आफूलाई सुरक्षित गर्न खोज्ने भन्दै सुतेका बालबालिकालाई बोलाउन तथा उठाउन नभ्याइएको हुनसक्ने बताउँछन् ।

‘गाउँमा सहरमा जस्तो पक्की घर हुँदैनन् । भूकम्पप्रतिरोध अर्थात् सुरक्षित भवन नहुँदा पनि धेरैको मृत्यु भएको देखिन्छ,’ उनले भने । २०७२ सालको भूकम्पमा भन्दा यसपटक धेरै बालबालिकाको मृत्यु भएको उनले दाबी गरे ।

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिका वडा–१ का ४ वर्षीय प्रबेश वली, ६ वर्षीय बिनायक परियार, ९ वर्षीय तिलक रावल, २ वर्षीय सुदाम रावत, ८ वर्षीय सुजन रावत, १३ वर्षीय मुनाल बिक, ८ वर्षीय विष्णु विक रहेका छन् ।

त्यस्तै सोही वडामा ५ वर्षीय सम्झना परियार, १३ वर्षीया शर्मिला विक, ९ वर्षीया अन्जली विक, ११ वर्षीया निरूता सुनार, १२ वर्षीय रोसनी विक, ८ वर्षीया सन्तोकी कामी र ९ वर्षीया विपना विकको ज्यान गएको छ ।

भेरी नगरपालिका–२ मा १६ वर्षीया सुष्मा कार्की, वडा–१३ मा १५ वर्षीया सकला खड्काको भूकम्पमा परी ज्यान गएको हो । नलगाड नगरपालिका–१ का ५ वर्षीय बिनोद पुन, ३ वर्षीया सम्झना पुन, ४ वर्षीय विशाल विक, ४ वर्षीय सन्दीप विक, ७ वर्षीय प्रदेश विक, १४ वर्षीय विमल विक, १२ वर्षीय सुनिल विक, ४ वर्षीय सुशान्त परियार, ८ वर्षीय विनय परियार, १० वर्षीया सपना विक, १६ वर्षीया अमृता पुन, १४ वर्षीय बिनिता पुनले ज्यान गुमाएका छन् ।

वडा–२ मा ४ वर्षीया मनिषा नेपालीको मृत्यु भएको छ । वडा–३ की ६ महिनाकी दीक्षा घर्ती, वडा–५ की ९ महिनाकी सुप्रिया खड्का, १२ वर्षीय सौगात शाही, ९ वर्षीय सुजन शाही, ७ वर्षीय सर्जन शाही रहेका छन् । त्यस्तै, वडा–६ का १० वर्षीय गुञ्जन रावल, १४ महिनाका टाइजन रावल, १५ वर्षीय नवीन बूढा छन् । वडा–७ का १६ वर्षीया विष्णु परियार, ११ वर्षीय रेगम सिंह, १० वर्षीया विपना तामाङ छन् । वडा ११ की २ वर्षीया प्रियंका बानियाँ छन् भने वडा–१२ की १४ वर्षीया मिना विष्टको भूकम्पमा परी ज्यान गएको छ ।

कुशे गाउँपालिका–७ की १ वर्षीय मानसिका पुन, ५ वर्षीया धना सिंह, १० वर्षीय जनक टमटा, ८ वर्षीय धर्मराज टमटाको ज्यान गएको प्रहरीको तथ्यांक छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा–१ का ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिनाको रेजन वली, ४ वर्षीया सरस्वती विश्वकर्मा ज्यान गुमाउनुपरेको छ । वडा–२ की १२ वर्षीया मनीष परियार छन् । वडा–४ का ८ वर्षीय निर्जल चन्द, ६ वर्षीय कृष्ण परियारको मृत्यु भएको हो ।

आठविसकोट नगरपालिका–११ का ५ वर्षीया दिया कामी, ९ वर्षीया रिया कामी, १८ महिनाकी एलिसा कामी, १३ वर्षीय सृजना कामीको ज्यान गएको हो । वडा–१२ को १४ वर्षीय रमेश पुन, १३ वर्षीय डिलबहादुर केसी छन् ।

त्यस्तै वडा–१४ मा ३ वर्षीय बासु बुढा, ५ वर्षीया भावना जैसी, १५ महिनाको दिवस जैसी, १२ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतम, १३ वर्षीय विराज मल्ल, १५ वर्षीया प्रेमा मल्ल, १० वर्षीया चन्द्रकला मल्लको ज्यान गएको हो ।

यही वडामा सल्यान दर्मा गाउँपालिका–६ बस्ने ४ वर्षीय लेखनाथ मल्ल, ९ महिनाका आयुष शाही, १४ वर्षीय दीपक शाहीको मृत्यु भएको थियो । रोल्पा परिवर्तन गाउँपालिका–११ का ३ वर्षीया सम्झना विक, आठविसकोट वडा–१३ का १० महिनाकी स्नाह विक, १० महिनाका पृथ्वीनारायण विक र वडा १४ का ६ वर्षीय भरोषा विकको भूकम्पमा परी ज्यान गएको छ ।

परकम्पबाट भत्किए भूकम्पले चर्काएका घर

जाजरकोट केन्द्रबिन्दु भएर सोमबार दिउँसो गएका चार म्याग्निच्युडमाथिका भूकम्पका दुई शक्तिशाली परकम्पले शुक्रबारको भूकम्पले चर्काएका घरहरू भत्किएका छन् ।

परकम्पले जाजरकोट र रुकुम पश्चिममा केही व्यक्तिहरू घाइते हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । जाजरकोटमा सोमबार अपराह्न नौ मिनेटको अन्तरमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको छ ।

दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । त्यसको नौ मिनेटपछि अर्थात् दिउँसो ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक आसपास केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सोमबारको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

परकम्पले अघिल्लो भूकम्पले चर्काएका घरहरू भत्काएको जानकारीमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
‘अघिल्लो भूकम्पले घरहरू भत्किएका छन् । अहिलेसम्म मानवीय क्षति भएको छैन्,’ बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भने, ‘परकम्प दिउँसै गएको र मान्छेहरू बाहिर नै बसेकाले मानवीय क्षति भएन ।’

भूकम्पले चर्काएका र मक्किएका बाँकी घर पनि सोमबारको भूकम्पले भत्किएका छन् । जाजरकोट र रुकुम पश्चिममा राहत र उद्धारमा जुटेका केही व्यक्तिहरू घाइते भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा समेत केही व्यक्तिहरू घाइते भएका छन् । कहाँ कति जना घाइते भए भन्नेबारे जानकारी नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सोमबारको परकम्पले जाजरकोट रिम्ना–खलंगा सडकखण्डसहित विभिन्न ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । अवरुद्ध सडक सुरक्षाकर्मीहरूले खुलाउने प्रयास जारी राखेका छन् । शुक्रबारको भूकम्पले आतंकित बनेका सर्वसाधारण सोमबारको परकम्पबाट झन् त्रसित बनेका छन् ।

भारतबाट आइपुग्यो फेरि राहत 

भारत सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई पठाएको दोस्रो लटको राहत सामग्री नेपालगन्ज आइपुगेको हो । पहिलो लटको राहत सामग्री लिएर आइतबार वनारसबाट आएको भारतीय सेनाको जहाज सिधै नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।

भारतको पटनाबाट दोस्रो लटको राहत सामग्री लिएर सोमबार भारतीय सेनाको जहाज नेपालगन्ज आएको हो । आइतबार भारतले दिएको राहत सामग्री सोमबार बिहान जिल्ला प्रशासन कार्यालय बाँकेले जाजरकोट र रुकुम पश्चिम पठाइसकेको छ ।

सोमबार दोस्रो लटमा आएका राहत सामग्रीहरूमा औषधि, टेन्ट, स्लिपिङ ब्याग, त्रिपाललगायत रहेका छन् । दोस्रो लटको राहत सामान समेत भूकम्प प्रभावित जिल्लामा पठाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०८०     8:15:50 AM  |