कोहलपुर ।
नयाँ बसपार्क व्यवस्थापन समितिले बसपार्क सञ्चालनका लागि लागू गरिएका ४३ बुँदे आचारसंहिता कडाइका साथ लागू गरिने जनाएको छ । सोमबार बसपार्कमा पत्रकारहरूसँग कुरा गर्दै बसपार्क व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्रबहादुुर शाहले आचारसंहिता पालना नगर्नेलाई कानुनी दायरामा ल्याइने जनाए ।
सरोकारवाला निकायसँगको छलफलपछि आचारसंहितालाई लागू गर्ने विषयमा सहमति भएको उनले जनाए । ‘सुरुमा आचारसंहिता बनाएर हामीले बजारका विभिन्न ठाउँहरूमा राख्यौँ तर त्यसमा सरोकारवाला कसैले ध्यान नै दिएनन्,’ उनले भने, ‘त्यसैले हामी अब कडारूपमा प्रस्तुत हुन थालेका हौँ ।’ नयाँ बसपार्कलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने विषयमा नगरपालिका, यातायात व्यवसायी, सुरक्षा निकाय, बसपार्कभित्रका व्यवसायीलगायत सबै सरोकारवाला पक्ष सहमत भएको उनले बताए ।
बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले नयाँ बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र यात्रुको सुरक्षाका प्रबन्ध गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले नयाँ बसपार्क वरपर ५ सय मिटरको दूरीमा कुनै पनि यातायातका साधन पार्किङ गर्न नपाइने भन्ने सरकारको निर्णय लागू गरिने जनाए ।
कोहलपुर भएर चल्ने सम्पूर्ण सवारी साधन नयाँ बसपार्कभित्र प्रवेश अनिवार्य गर्ने सहमति भएको उनको भनाइ छ । त्यसैगरी, बसपार्कभित्र जथाभावी फोहोर गर्नेलाई कारबाही गरिने उनले जनाए । यातायात व्यवसायीका तर्फबाट आफूहरूबाट पनि कुनै कमीकमजोरी भएका भए आफूहरू सच्याउन तयार रहेको बताउँदै उनले व्यवस्थित रूपमा बसपार्क सञ्चालनका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।
त्यस्तै, इलाका प्रहरी कार्यालय कोहलपुुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले सार्वजनिक सवारी साधनलाई थप मर्यादित बनाउन र यात्रु सुरक्षाका लागि सबै पक्ष आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्