काठमाडौँ ।
अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआबद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो ।
यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरूलाई परिपत्र गरिसकेको केन्द्रका एक अधिकारीले बताए । ‘ट्राफिकले जाँचका क्रममा कारबाही गर्नुपर्दा नागरिक एपमा देखाइएको लाइसेन्सले काम गर्दैन,’ एक अधिकारीले भने, ‘तर, सक्कल लाइसेन्स नबोकेको अवस्थामा देखाउनका लागि मात्रै हो भने नागरिक एपमा आफ्नो लाइसेन्स देखाउँदा पनि हुन्छ ।’
सरकारले नागरिक एपमै दर्ता भएका सवारी साधनको विवरणसहित ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेको विवरण समेत राख्ने तयारी हुँदैछ । यसले ट्राफिक प्रहरीलाई सवारी चेकजाँचमा थप सहज हुनेछ ।
सूचना प्रविधि केन्द्रले नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध गरेको छ ।
यस्तै ट्राफिक प्रहरीले नियम उल्लंघ भयो भने लाइसेन्स नै चाहिने बताएको छ । सवारी चालकले नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्ने भएपछि ट्राफिक प्रहरीले नियम उल्लंघ भएमा लाइसेन्स नै चाहिने बताएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै नागरिक एपमा हुने डीजीटल लाइसेन्स सुविधा दिइएको बताएका थिए । यसबारे बोल्दै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने बताएको हो ।
ट्राफिक प्रहरीले भनेको छ, ‘हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने । तर ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ ।’
प्रतिक्रिया दिनुहोस्