आजदेखि कोहलपुरमा नापी र मालपोतको सेवा प्रारम्भ हुँदै



उद्घाटनको एक वर्षपछि नापी र मालपोत कार्यालय कोहलपुरबाट नियमित सेवा प्रवाह हुन गइरहेको छ । आज एक समारोहकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यमा दुवै कार्यालयको सेवा शुम्भारम्भ हुनेछ । त्यसको लागि मंगलबार नै सबै तयारी पूरा भइसकेको छ ।

बाँके ।

नापी र मालपोत कार्यालय कोहलपुरमा आजदेखि नियमित रूपमा सेवा प्रवाह हुने भएको छ । उद्घाटनको एक वर्षपछि नापी र मालपोत कार्यालय कोहलपुरबाट नियमित सेवा प्रवाह हुन गइरहेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यमा दुवै कार्यालयको सेवा शुम्भारम्भ हुनेछ ।

सेवा शुम्भारम्भ तथा कार्यालय सञ्चालनको तयारी पूरा भइसकेको नापी कार्यालय कोहलपुरका अधिकृत दिनेश भण्डारीले जानकारी दिए । उनका अनुसार कार्यालयको सेवा शुम्भारम्भका लागि आज बिहान १० बजे एक औपचारिक कार्यक्रमसमेत राखिएको छ ।

‘कोहलपुरबाट सेवा शुम्भारम्भका लागि गर्नुपर्ने कामहरू हामीले गरिसकेका छौं,’ अधिकृत भण्डारीले मिसन टुडेसँग भने, ‘कार्यालय पहिला नै उद्घाटन भइसकेकाले बुधबारबाट सेवा शुम्भारम्भ गरिनेछ ।’

दुवै कार्यालयले कोहलपुर गोलपार्कमा दुई वटा घर कार्यालय सञ्चालनका लागि भाडामा लिएका छन् । कार्यालयका चाहिने आवश्यक पूर्वाधारसहित कर्मचारीहरूको समेत व्यवस्थापन भइसकेको नापीका अधिकृत भण्डारीले जानकारी दिए ।

कोहलपुरबाट सेवा प्रवाह गर्नका लागि गत असोज २६ गतेबाट नै नेपालगन्जबाट हुने कामकाज रोकिएको थियो । नापी र मालपोत कार्यालय कोहलपुरको कार्यक्षेत्रमा पर्ने सबै वडाहरूको कामकाज आजदेखि कोहलपुरबाट नै हुने मालपोत कार्यालय कोहलपुरका प्रमुख निरबहादुर दाहालले जानकारी दिए ।

दुवै कार्यालयले कोहलपुरमा आवश्यक पर्ने कागजातहरू नेपालगन्ज कार्यालयबाट ल्याइसकेका छन् । ‘कोहलपुर कार्यक्षेत्र रहेका साविकका गाविसहरूको कामकाज पाँच दिन रोकेर आवश्यक कागजात सबै नेपालगन्जबाट कोहलपुर ल्याइसकेका छौं,’ उनले भने, ‘अब नापी र मालपोतसम्बन्धी कामका लागि कोहलपुर कार्यक्षेत्रभित्रका नागरिकहरू नेपालगन्ज जानुपर्दैन ।’

मालपोत कार्यालय कोहलपुरका लागि ३३ जना विभिन्न तहका कर्मचारीहरूको दरबन्दी समेत स्वीकृत भइसकेको छ । यस्तै नापी विभागले नापी कार्यालय कोहलपुरका लागि १६ स्थायी र चार करार गरी २० जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

स्वीकृत दरबन्दीअनुसार नापीको कोहलपुर कार्यालयमा एक उपसचिव, दुई नापी अधिकृत, चार नापी सर्वेक्षक, ६ अमिन, एक कम्युटर सहायक, एक सहायक लेखापाल र एक सहायक प्रशासन चौथो तहका कर्मचारी रहेका छन् । अन्य चार जना कार्यालय सहयोगी भने करारमा राख्नका लागि दरबन्दी स्वीकृत भएको नापी कार्यालय कोहलपुरले जनाएको छ ।

नापी र मालपोत कार्यालय कोहलपुरबाट आजदेखि सेवा प्रवाह हुने भएपछि तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी काम कोहलपुरबाटै हुनेछ । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी कामका लागि नेपालगन्ज जानुपर्ने अन्त्य भएको छ ।

१२ भदौ २०७९ मा तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कोहलपुर नगरपालिकाले दिएको नगर विकास समितिको जीर्ण र साँघुरो भवनमा दुवै कार्यालय उद्घाटन गरेकी थिइन् ।

उक्त स्थान कार्यालय सञ्चालनका लागि उपयुक्त नभएपछि उद्घाटन एक वर्षपछि दुवै कार्यालयले गोलपार्कमा घर भाडामा लिएर सेवा प्रवाह गर्न लागेका हुन् । त्यहाँ फरकफरक घरमा नापी र मालपोत कार्यालयले आफ्नो सेवा प्रवाह गर्नेछन् । दुवै कार्यालयले मासिक ५०÷५० हजार रुपैयाँ भाडा तिर्नेगरी केही महिनाअघि सम्झौतासमेत गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १ गते बुधबार