पट्यारलाग्दो झरी सकिएलगत्तै गाउँघरमा दसँैले चिहाउन थाल्थ्यो ।
शारदीय आकाश नीलो रङमा गज्जबले खुल्थ्यो । कताकति सेता बादलका टुक्रा देखिन्थे । ती कपासजस्तै स्निग्ध हुन्थे । चिसो हावा चलिरहन्थ्यो । हावामा गौँथलीहरू रमाउँदै कावा खान्थे । घामकिरीहरू उडेको दृश्य साँच्चै मोहक हुन्थ्यो ।
खोलाकिनार वा सिमसारहरूमा मनै लोभ्याउने किसिमले काँश फुल्थे । बारीका बार र थाँक्रामा घिरौँला, चिचिन्डा फलेका हुन्थे । काठका सुकेका थाँक्रामा लोभ लाग्दोगरी बोडी फले फल्थे । कताकति हर्लक्क साग मौलाएका देखिन्थे ।
राति शीत पर्न थालिसकेको हुन्थ्यो । पारिजात, चमेलीजस्ता फूलका बासनाले बिहानी वातावरण समधुर बन्थ्यो ।
यही मौसममा एउटा फिस्टे चरा देखिन्थ्यो । हामी त्यसलाई दसैँ चरा भन्थ्यौँ । त्यो देखिएपछि हामी ‘ल है अब दसँै आयो’ भन्थ्यौँ । खेतमा धानका बाला नुहेका हुन्थे । त्यो फिस्टे धानका बोटमा लाग्ने कीरा खान्थ्यो ।
दसैँ–तिहारका लागि स्कुलमा लामो बिदा हुन्थ्यो । शिक्षकले बिदाका लागि गृहकार्य दिन्थे । त्यो दसैँ–तिहार सकिएपछिका लागि मुल्तबीमा राखिन्थ्यो ।
साँच्चै नै दसैँ उमंग बोकेर आउँथ्यो । साराका लागि खुसी बोकेर आउँथ्यो । दसैँ भन्नेबित्तिकै मनमा एकखालको हतारो हुन्थ्यो । जहिल्यै के–के छुट्ला जस्तो छट्पटी हुन्थ्यो ।
साथीहरू टीका लगाउन मामाघर जाने कुरा गर्थे । मामा माइजूले दक्षिणा दिनुहुन्छ भनेर रमाउँथे । तर हामी भने माइती टाढा भएर जान नपाएकोमा तीजमा दिदीबहिनीले विरह गाएझैँ मावली टाढा भएकोमा विरही सुस्केरा निकाल्थ्यौँ । हामीलाई मामाघर जाने सुयोग कहिल्यै जुरेन । हाम्रा लागि खुसी जे जति मिल्थ्यो त्यो ककौरामै मिल्थ्यो । बाआमा सकेसम्म हाम्रा खुसी खोजमेल गर्नुहुन्थ्यो ।
दसँैलाई आवश्यक पर्ने चिउरा, चामल, मासुको जोहो बा गर्नुहुन्थ्यो । आमाले ढिकी जाँतोमा कुटेर पिसेर सेल पकाउने पिठोको जोहो गर्नुहुन्थ्यो । चिनी भेलीका लागि नेपालगन्ज जाने हो कि बलैगाउँ त्यसको जिम्मा बाले दिनुहुन्थ्यो । एकाधपटक म पनि बलैगाउँदेखि रुपैडिहासम्म पुगेको छु ।
नौरथा लागेपछि मालचरा उड्छ भन्थे । आकासमा मालचराहरू गोलो आकार बनाएर उत्तरी दिशाबाट दक्षिण झर्दथे । दसैँमा सबैलाई नयाँ कुराको चाह हुन्थ्यो ।
पानीका बाछिटाले लिउन उप्किएका घरका भित्ता लिप्ने माटो लिन गाउँछेउकै तालमा जान्थे गाउँलेहरू । गाउँमा दुई तीन वटा ताल थिए । तिनमा पाइने माटोको रंग अलग–अलग थियो । कुनैमा कालो माटो हुन्थ्यो कुनैमा पहेँलो माटो हुन्थ्यो । गाउँका तालको भन्दा पनि अझ राम्रो माटो जंगलमा पाइन्थ्यो । माटो लिन गाउँलेहरू जंगलमा जान्थे । कसैले बोरामा भरेर ल्याउँथे, कसैले डोकोमा ल्याउँथे । थारूहरूले भने लडियै लिएर जान्थे ।
घर रातो, सेतो र पहेँलो माटोले लिप्थे । औँसीदेखि घर लिप्न सुरु हुन्थ्यो । जमरा राख्ने अघिल्लो दिन घर, कोठा, चोटा लिपेर सर्लक्क सफा पारिएको हुन्थ्यो ।
घरको भत्के बिग्रेको पिँढी र पाली मर्मत गरिन्थ्यो । बिग्रिएका पुराना ब्याट्रीको कालो निकालेर पिसेर झ्याल ढोकामा रङ्गाइन्थ्यो । त्यतिबेला झ्याल ढोकामा लगाउने इनामेल पालिस कहाँ पाउनु ! लिपिएको घरको भित्तामा कम्पासले फूलका चित्र बनाएर त्यसमा रङ भरिन्थ्यो । सबैका घरमा एकैखाले चित्र हुन्थे ।
झार उखेलेर, फरुवाले भुई ताछेर आँगन चिटिक्क पारिएको हुन्थ्यो । बाटोका खाल्डाखुल्डी पुरिन्थे ।
पढन गएका, कमाउन गएका सबै गाउँ फर्किन्थे । रोजगारीमा गएका शिक्षक कर्मचारी गाउँ फर्किएका हुन्थे । वैदेशिक रोजगारीमा जाने चलन त्यति भित्रिइसकेको थिएन । गाउँमा भीडभाड बढ्थ्यो । घरका सबै सदस्य जम्मा हुन्थे । निकै रमाइलो माहोल हुन्थ्यो गाउँमा ।
सोह्रश्राद्ध सुरु भएदेखि नै हाम्रा लागि दसैँको काउन्टडाउन सुरु हुन्थ्यो । दसैँ आउन अब २५ दिन बाँकी । अब २४ दिन बाँकी । अब २३ दिन बाँकी ।…
सोह्रश्राद्धमा बा कपाल खौरेर बस्नुहुन्थ्यो ।
नयाँ लुगा पाइन्थ्यो दसैँमा ।
मानिसहरू किनमेल गर्न हतारिन्थे । सामानको जोहो गर्न कहाँ–कहाँ पुग्नुपथ्र्याे । माहोल नै यस्तो हुन्थ्यो कि सबैको मनमा कुतकुती लाग्थ्यो ।
दसैँका लागि सबैले घ्यू सँगालेर राखिन्थ्यो । थरिथरिका अचार बनाएर राख्थे । सेल रोटी पाक्थ्यो । घरमा टीका लगाउन आउनेलाई केही नखुवाई पठाउने चलन थिएन ।
साँच्चै दसैँ त्यतिबेला आएजस्तो लाग्थ्यो जब भारततिर गएका मानिस गाउँ फर्किन्थे ।
हाम्रो घरदेखि उत्तर टोलका लेखबहादुर, कोमबहादुर, ढाडे साइलाहरू भारतबाट गाउँ आउँदा चस्मा लगाएर हातमा सुटकेश बोकेर आउँथे । उनीहरू आएपछि अझ दसैँ नजिकै आएको भान हुन्थ्यो ।
रेडियोमा माङ्गल धुन बजिरहेको हुन्थ्यो । हरेक बिहान रेडियोले देवता र असुरहरूको लडाइँको नाटक बजाउँथ्यो । रेडियो भन्नु नै रेडियो नेपाल थियो ।
दसैँको दिनमा को घाँस काट्न जाने ! तर गोठमा बाँधिएका पशुको खान्कीको जोहो गर्नैपथ्र्याे । त्यसैले दिनको दुई तीन भारी घाँस काटेर जगेडा राखिन्थ्यो । जसरी हुन्छ दसैँको एकदुई दिन फुर्सदिलो बनाउने बारेमा जोसुकैको ध्याउन्न हुन्थ्यो ।
दसैँमा ताजा चिउरा चिज हुन्थे । त्यसैले हरिया धान काटेर माडेर चिउरा बनाउन संखरिया लैजान्थे । यस क्षेत्रको एक मात्र चिउरामिल संखरियामै थियो । मिल नपुग्दै ताजा चिउराको मीठो बास्ना नाकमा ठोक्किन्थ्यो ।
त्यतिबेला मिल मात्रै होइन । गाउँभरका ढिकी जाँतोले पनि दिनरात फुर्सद पाउँदैनथे ।
धित मरुन्जेल मासु खान पनि दसैं नै आउनुपथ्र्यो । आमाले पाकेर पहेँलिएका काँक्राको अचार बनाएर राख्नुहुन्थ्यो । त्यो बेला गाउँघरमा स्याउ सुन्तला कहाँ पाउनु । बरु दसैँको दिनका लागि भनेर बाले जमिनमुनि केराका घरी पकाउन हाल्नुहुन्थ्यो ।
थारू गाउँहरूमा भिडियो लाग्थ्यो । तोरैया, लक्ष्मणा या छोट्की डेउढासम्म ककौराबाट भिडियो हेर्न गइन्थ्यो । एकपटक लक्ष्मणामा भिडियो चलेको खबर आयो । साथीहरूसँग म पनि भिडियो हेर्न गएँ । भिडियो चलिरहेकै थियो, अबेर रात साथीहरूले ‘घर जाउँ’ भने । ‘भिडियो सकिएकै छैन म त जान्न,’ मैले साथीहरूलाई छोडिदिएँँ, ‘रातभरि भिडियो हेर्छु । बिहान मात्र आउँछु ।’ उनीहरू रिसाउँदै फर्किए । रातभरि भिडियो हेरेर मिर्मिरे बिहान भएपछि मात्र म घरतिर हिँडेँ ।
गाउँघरमा जताजतै पिङ हालिएका हुन्थे । बेलुकी सबै गाउँले पिङ भएकै ठाउँमा जम्मा हुन्थे । सबै उमेरसमूहका मानिस पिङमा मच्चिएका हुन्थे ।
कताकति रोटेपिङ हुन्थे धेरैजसो ठाउँमा लट्ठेपिङ गाडिएका हुन्थे । घरघरबाट बनकसका मुठा उठाएर गाउँकै युवाहरूले पगाहा बाटेर पिङ बनाउँथे । पिङका लागि खाँबाहरू जंगलबाट ल्याइन्थ्यो ।
दसैँका दिन दहीमा राता अक्षता मुछिएका हुन्थे । कतिबेला बाले टीका लगाइदिनुहोला भनेर हामी अधीर भएर पर्खिन्थ्यौँ । ‘दसैँमा जेठाको पालो, तिहारमा कान्छाको पालो,’ बा भन्नुहुन्थ्यो, ‘ल पहिला ठूल्बाबूको पालो अनि तिमीहरूको है ।’
बा निधारमा टीका लगाइदिँदै मन्त्र भट्याउनुहुन्थ्यो– ‘जयन्ती मंगलाकाली भ्रदकाली कपालिनी…।’ टीका नलगाएसम्म खान पाइँदैनथ्यो । भोक खटेरै बसिन्थ्यो । खाना खानेबित्तिकै घरबाहिर निक्लियो । साथीहरू पर्खिएर बसेका हुन्थे । सबैका निधारभरि राता अक्षता, कानभरि पहेँलपुर जमरा ।
कसले कस्तो कपडा किनेछ । कसले जुत्ता किन्यो । कसको जिन्स पाइन्ट । कसको हातमा चिमचिमे घडी छ । कसको पर्स छ । कोसँग रुमाल छ । सबै कुरा रोचक हुन्थे । साथीभाइबीच आफूसँग भएका नयाँ चिजबिजको प्रदर्शन गर्ने बेला यही हुन्थ्योे ।
घरमा बाआमाको हातबाट टीका थापेपछि अन्यत्र टीका थाप्न हिँडिन्थ्यो । टीका लगाउन जाने हाम्रा आफ्नै रुट थिए ।
साथीहरूसँग दसँैमा कसको घर जाने कसको घर नजाने सल्लाह हुन्थ्यो । कसले धेरै पैसा दिन्छ, कसले थोरै दिन्छ वा कसले प्रसादमात्र दिन्छ त्यसका आधारमा टीका थाप्न गइन्थ्यो । हामीलाई टीका र आशिर्वादभन्दा पनि पैसाको महत्व थियो । पैसा दिने घर अवश्य गइन्थ्यो । नदिने घर सकभर गइँदैनथ्यो । दक्षिणा सुका, मोहर, डबल हुन्थे । कसै कसैले भने ५ पैसा, १० पैसा पनि दिन्थे ।
हामीले ककौरामा टीका लगाउने दुई तीन घर मात्रै थिए, जहाँ दक्षिणा पाउने सम्भावना शतप्रतिशत रहन्थ्यो । धेरै घरमा टीका लगाएपछि आशिक मात्रै पाइन्थ्यो । ती आशिक उनैले राखून् । हामीलाई के काम । सेलरोटीको पनि खासै रुचि हुँदैनथ्यो ।
गाउँमा टीका लगाइसकेपछि मटेरिया, मटेरियाबाट संखरिया । त्यहाँबाट रिहारपुर, बनगौडी, जुरैना हुँदै लक्ष्मणसम्म पुगिन्थ्यो । दिन कति छिटो बित्थ्यो । ‘यो दिन त तीन चार दिनको लामो हुनु नि !’ हामी भन्थ्यौँ । बरु साइकल भइदिए कति घर त छुट्दैनथे जस्तो लाग्थ्यो । सिक्काले पाइन्ट वा जाँघेका दुवैतिरका खल्ती लच्किएका हुन्थे । घर आउँदा साँझ परिसक्थ्यो ।
मध्यपहाडी जिल्लाबाट बसाइ आएकाहरू पुरै निधार ढाकिने गरी टीका लगाउँथे । हाम्रो टीका एक दिन मात्रै चल्थ्यो पुग्नुपर्ने ठाउँमा एक बजे रातिसम्म भए पनि पुग्नैप¥यो । नत्र टीका सयम सकिन्थ्यो । दसैँको दिन छुटेपछि त छुट्यो छुट्यो ।
तर मध्यपहाडी क्षेत्रका मानिसहरू पाँच दिनसम्म टीका लगाएर हिँडेको देख्दा अचम्म लाग्थ्यो । हाम्रोमा पनि यो चलन चलाउनु नि जस्तो लाग्थ्यो ।
हाम्रो बस्तीसँगै जोडिएको थियो थारू गाउँ । थारू गाउँमा दैनिक मादल बज्थ्यो । के पुरुष के महिला दसँै सुरु भएदेखि नै थारूहरू जाँड रक्सी खाएर ‘मत्वार’ हुन्थे । नाचमा थारूहरू दुई समूहमा बाँडिन्थे । एउटा समूहले गीत गाउँथ्यो र त्यही गीत अर्काे समूहले छोप्थ्यो । सबैले कानमा दाउना (बाबरी) फूल सिउरिएका हुन्थे । दाउना फूल र मदिराको सुगन्धले सारा माहोल मादक बनेको हुन्थ्यो । थारू महिला भने आफैँ नाचगानमा सहभागी हुँदैनथे । उनीहरू मचिया, खटियामा बसेर नाच नियाल्थे ।
थारू पुरुषहरू नै महिलाका कपडा लगाएर नाच्थे । चार पाँचवटा मादल घन्किएका हुन्थे । नाचको बीचबीचमा सोङ्गियाले विभिन्न हाउभाउसहित हँसाउँथे ।
दसैँमा खसी काट्दाको माहोल गज्जबको हुन्थ्यो । केराका पातमाथि बिलो लगाउँथे । खसी भुत्ल्याउन भाँडोमा खरानी पानी तताइएको हुन्थ्यो । खसीको रगत, मुटु, कलेजो काटकुट पारी रक्ती भुट्थे जुन एकदम चर्काे हुन्थ्यो । मासुका सबै ग्राहक, घरधनी र त्यो घरका सबै सदस्यले धेरथोर रक्ती पाउँथे । सालको पातको दुनामा सबैलाई भाग लाग्थ्यो । मासु काट्नेले मासु टुक्र्याउँदै पनि हुन्थ्यो । कतिपयले काट्दाकाट्दै काँचै मासु पनि खाइदिन्थे ।
धारो या कुवाको छेउमा बसेर हामी केटाकेटी आन्द्रामा पानी हालिहाली आन्द्राभुँडी सफा गथ्र्यौँ । दाह्री खौरने मेसिनको ब्लेडले खसीका खुट्टा टाउकाका रौँसमेत खुर्किन्थ्यौँ । यो जत्तिको पट्यारिलो काम सायद अर्थाेक हुँदैनथ्यो होला । थारू गाउँ, पिपलटाँडी, ककौरा चोक जताततै तासका खाल जम्किएका हुन्थे । भुराभुरी खोरखोरेमा झुम्मिन्थे ।
गाउँ छोडेपछि धेरै कुरा छुटे । आनन्द छुट्यो । दसैँको रमाइलो छुट्यो । साथीहरू छुटे । दसैँको दक्षिणा छुट्यो । बुबा आमाको काख छुट्यो । जंगल छुट्यो । माटोसँगको सानिध्य छुट्यो । धेरै कुराहरू छुटे ।
सबैभन्दा ठूलो कुरा सुनौलो बाल्यकाल पनि उतैकतै गाउँमै छुट्यो ।
प्रतिक्रिया दिनुहोस्