भदौमै आए ७ सय ८८ वटा विद्युतीय कार



काठमाडौ ।

चालु आर्थिक वर्षको दुई महिनामा ८ सय ९८ वटा विद्युतीय कार आयात भएको छ । यो वर्षको भदौ महिनामा मात्र ७ सय ८८ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांक छ ।

चाडपर्व नजिकिँदै गरेको र नाडा अटो शो २०२३ का लागि लक्षित गर्दै विद्युतीय कार आयात बढेको हो । साउन र भदौमा ८ सय ९८ वटा विद्युतीय कार आयात भएको छ ।

दुई महिनामा आयात भएको कुल विद्युतीय सवारीमा सबैभन्दा धेरै ५१ देखि १ सय किलोवाटसम्मका सवारी आयात भएको छ । यी विद्युतीय कार भारत र चीनबाट आयात भएका हुन् ।

दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्यबराबरका ८ सय ९८ वटा विद्युतीय कार आयात हुँदा १ अर्ब १२ करोड ६० लाख रुपैयाँ सरकारले कर पाएको छ ।

साउन र भदौमा ५० किलोवाटसम्म २ सय ५५ वटा, ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएका ६ सय ३१ विद्युतीय कार आयात भएका हुन् ।

त्यस्तै १ सय १ देखि २ सय किलोवाटसम्म मोटर क्षमता भएको ९ वटा र २ सय १ देखि ३ सय किलोवाटसम्म मोटर क्षमता भएका ३ वटा विद्युतीय कार आयात भएको भन्सारको तथ्यांक छ ।

दुई महिनामा कुन देशबाट कति विद्युतीय कार आयात

चीनबाट ५० किलोवाटसम्मका ५ वटा, ५१ देखि १ सय किलोवाटसम्मका ५ सय ६० वटा, १ सय १ देखि २ सय किलोवाटसम्मका ७ वटा, २ सय १ देखि ३ सय किलोवाटसम्मका ३ वटा विद्युतीय कार आयात भएको छ ।

त्यस्तै, भारतबाट ५० किलोवाटसम्मका २ सय ४६ वटा, ५१ देखि १ सय किलोवाटसम्म ७१ वटा आयात भएको छ । त्यस्तै, जर्मनीबाट १ सय १ देखि २ सय किलोवाटसम्मको २ वटा विद्युतीय कार आयात भएको छ ।

इन्डोनेसियाबाट ५० किलोवाटसम्मका ४ वटा विद्युतीय कार आयात भएको भन्सारको तथ्यांक छ । यस्तो थियो साउनको तथ्यांक
साउनमा १ सय १० वटा विद्युतीय कार आयात भएका थिए ।

यो अवधिमा सबैभन्दा धेरै ५१ देखि १ सय किलोवाटसम्मका विद्युतीय कार आयात भएको हो । ५० किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कार २१ वटा आयात भएको थियो ।

त्यस्तै ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएका ८१ वटा, १ सय १ देखि २ सय किलोवाटसम्म मोटर भएका ५ वटा र २ सय १ देखि ३ सय किलोवाटसम्म मोटर क्षमता भएका ३ वटा विद्युतीय कार आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा छ ।

नेपालमा चीन, भारत, कोरियालगायत मुलुकबाट विद्युतीय कार आयात हुँदै आएको छ । सरकार विद्युतीय कारको आयात र कर्जा प्रवाहमा समेत कडाइ नगरेकाले विद्युतीय कारको आयात तथा प्रयोग बढ्दै गएको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मंगलबार