नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघले जमुनाह नाका हुँदै आयात हुने खुद्रा सामानको भन्सारका लागि थप काउन्टर राख्न माग गरेको छ । हाल रहेका काउन्टरले भीड थेग्न नसकेको भन्दै अन्य काउन्टर थप्दा दैनिक लाखौंका राजस्व संकलन हुने अवस्था रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले बताए ।
उनले भने, ‘यो विषयमा हामी सरोकारवाला निकायको ध्यानार्कषण गराउँदैछौं ।’ धामीका अनुसार दैनिक लाखौं मूल्यको खुद्रा सामान जमुनाह नाकाबाट आयात हुन्छ । त्यसरी आयात भएको सामानलाई भन्सारको प्रक्रियामा लैजानका लागि काउन्टरहरू थप गर्नुपर्ने माग उठेको हो । करारमै कर्मचारी भर्ना गरेर भए पनि भन्सार नियमन गर्नुपर्ने व्यवसायीहरूको माग छ ।
संघका अध्यक्ष धामीले केही दिनअघि उद्योग मन्त्री रमेश रिजाललाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा जमुनाह नाकाबाट अवैध रूपमा करोडौंको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेकाले सीमा नाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यावहारिक भन्सार नीति सच्चाउनुपर्ने माग गरिएको छ । उक्त विषयमा माथिल्लो निकायमा पनि छलफल गरिने अध्यक्ष धामीले बताए ।
संघले पटक–पटक विद्युत जाँदा औद्योगिक प्रतिष्ठानका उत्पादन बिग्रेर खेर जाने र मेसिनरी सामानहरू बिग्रने समस्या धेरै भएकाले उद्योगहरूमा नियमित रूपमा सहज विद्युत आपूर्ति व्यवस्था गर्न र उत्पादनमूलक उद्योगलाई सहुलियत दरको बैंक ब्याज उपलब्ध गराउन माग गरेको छ ।
त्यसैगरी शिलन्यास गरिएको नौबस्ता औद्योगिक क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने, नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आइसिपी)को काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने रहेको छ ।
उद्योगी व्यवसायीलाई सहजताका लागि नेपालगन्जमा कम्पनी रजिष्ट्रारको कार्यालय खोल्नुपर्ने, उद्योगी–व्यवसायीमैत्री नीति बनाएर पर्यटन उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने, बाँकेमा जडिबुटीमा आधारित औषधि उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने र जडिबुटी निर्यातको समस्या समाधान गर्न नेपाल र भारतका सरकार स्तरमा संवाद गर्नुपर्ने माग रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्