खजुराबाट राँझामा स्थानान्तरण भएको नेपालगन्ज विमानस्थलमा अत्याधुनिक पूर्वाधार निर्माण गर्न ४० वर्ष पर्खिनुप¥यो । पूर्वाधार निर्माणसँगै सरकारले यो विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान भर्ने गरी गृहकार्य सुरु गरेको छ ।
कमल डाँगी । नेपालगन्ज ।
बाँकेको खजुराबाट राँझामा स्थानान्तरण भएको चार दशकपछि नेपालगन्ज विमानस्थलको पूर्वाधार निर्माणमा ‘कायापलट’ भएको छ । नेपालगन्ज विमानस्थल बिक्रम संवत् २०३७ सालमा निर्माण गरिएको हो । त्योभन्दा पहिले यो विमानस्थल खजुरामा थियो ।
खजुरामा हुँदा तत्कालीन शाही नेपाल वायुसेवा निगमका पाँच जहाजले मात्र उडान भर्दै आएका थिए । तर अहिले नेपालगन्ज विमानस्थल हुँदै काठमाडौं, पोखरासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लामा उडान हुँदै आएको छ ।
यात्रु र जहाजको संख्या बढेसँगै विमानस्थलको पूर्वाधार निर्माणमा समेत ठूलो परिवर्तन आएको हो । पूर्वाधार निर्माणसँगै सरकारले नेपालगन्ज विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान भर्ने गरी योजना बनाएको छ ।
पर्यटन मन्त्रालयबाट आइतबार भएको निर्णय अनुसार नेपालगन्जबाट भारतका विभिन्न सहरहरूमा उडान पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिने भएको छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालगन्जबाट भारतका विभिन्न सहरहरूमा उडान भर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
उनले भने, ‘नेपालगन्जबाट भारतका विभिन्न सहरमा क्षेत्रीय उडान गर्न यसअघि पनि पहल भएको थियो । यसमा सरकार पुनः लागिपरेको छ ।’
हवाई रुट विस्तारका लागि मन्त्रालयले भारतीय प्राविधिकसँगको बैठक छिट्टै आयोजना गर्ने तयारी गरिरहेको उनले बताए । दुवै मुलुकको पर्यटन प्रवद्र्धधन गर्ने उद्देश्यले यो योजनालाई पुनः परराष्ट्रमार्फत पहल गर्न लागिएको उनले बताए ।
दुई देशको पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूत नियुक्त गरिनेबारे पनि निर्णय भइसकेको उनले जानकारी दिए । हाल नेपालगन्ज विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनका लागि नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब रुपैयाँ लागतमा काम सुरु गरिसकेको छ ।
नेपालगन्जमा नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भइसकेको छ ।
यो विमानस्थलमा ६ दशकपछिको यात्रु मुभमेन्टअनुसारको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम द्रुत गतिमा बढिरहेको छ । नागरिक उडड्यन प्राधिकरणका अनुसार ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरियालगायत पूर्वाधार निर्माण सुरु भएको हो । चालु आवका लागि ६२ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नयाँ टर्मिनल निर्माण लागि शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरी काम सुरु गरिसकेको छ । सन् २०२२ डिसेम्बर १६ बाट सुरु भएको टर्मिनल भवन निर्माणको काम सन् २०२५ डिसेम्बर १५ सम्ममा सकिसक्नुपर्ने सम्झौता छ ।
पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगन्ज विमानस्थललाई केन्द्र बनाएर पश्चिमी पहाडका जनतालाई सेवा दिने सरकारको उद्देश्य रहेको लामिछानेले बताए । भविष्यमा नेपालगन्जबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने पनि सरकारको लक्ष्य छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि सौरभ शर्माले दुई तलासहितको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तोकिएको समय अगाडि नै सक्नेगरी काम भइरहेको बताए । उनले भने, ‘तोकिएको समयभन्दा ५/६ महिना अगाडि विमानस्थल कार्यालयलाई भवन हस्तान्तरण गरिसक्ने लक्ष्य
छ ।’
अत्याधुनिक टर्मिनल भवन मापदण्डअनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधारसहितका हुने बताइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले विमानस्थलको स्तरोन्नति जनताको माग भएको बताउँदै यसले पश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने निश्चित भएको बताए ।
भारतसँग हवाई उडान जोड्ने विषयमा सरकारको ध्यानार्कषण गराइएको उनको भनाइ छ । ‘४ दशकभन्दा पुरानो विमानस्थलको ढिलै भए पनि सुधार हुनु सकारात्मक कुरा हो । हामी यसमा खुसी नै छौं । आशा छ, चाँडै अन्तर्राष्ट्रिय उडान हुनेछ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्