अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासल पुर्‍याइयो नेम्वाङको पार्थीव शरीर



काठमाडौं ।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर एमाले पार्टी कार्यालय च्यासल पुर्‍याइएको छ।

त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थीव शरीर च्यासल पुर्‍याइएको छ। च्यासलमा एमालेले शोक सभाको आयोजना गर्नेछ। अन्तिम श्रद्धाञ्जलीका लागि पार्थीव शरीर मंगलबार दिनभरी च्यासलमा राखिने एमाले नेताहरुले जनाएका छन्।

प्रतिनिधि सभाका सदस्य एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ काठमाडौंको बालुवाटारस्थित आफ्नो निवासमा अचेत अवस्थामा फेला परेपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। मंगलबार बिहान १:५० अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

अस्पतालका १ जना चिकित्सकका अनुसार शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइँदा नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको धड्कन फर्काउने प्रयासस्वरुप सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो। मुटुको चाल फर्काउने प्रयास असफल भएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु मंगलबार बिहानै अस्पताल पुगेका थिए। प्रमुख दलका शीर्ष नेताहरु अस्पताल पुगेका थिए।

अस्पतालबाट विशेष सम्मानसहित केही समय अगाडि नेम्वाङको पार्थीव शरीर निकालिएको थियो। सरकारले नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रिपरिषद्‌ बैठकले नेम्वाङको अन्त्येष्टिको दिन देशभर शोक बिदा दिने निर्णय समेत गरेको छ। नेम्वाङको निधनपछि मंगलबार बिहान मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बसेको थियो।

नेम्वाङका २ छोराहरु विदेशमा रहेको र उनीहरु स्वदेश फर्किन लागेकाले उनीहरु आएपछि मात्रै अन्तिम संस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ।​

प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार