कोहलपुर ।
कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा नयाँ संकाय थप गर्ने विषयमा छलफल थालिएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंशिक क्याम्पसको रूपमा रहेको बागेश्वरीमा थप संकाय थप गर्ने सम्बन्धमा छलफल थालिएको हो । सोही क्रममा आइतबार क्याम्पसमा यस क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरिएको थियो ।
क्याम्पसले नयाँ संकायका रूपमा स्नातक तहमा विज्ञान विषय थप गर्ने मनसाय बनाएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले मध्यपश्चिम विश्वविद्यालयले जनरल साईन्सको सम्बन्धन दिएमा आफु स्थानीय तहको प्रमुख हुने बेलासम्म लथालिङ्ग हुन नदिने बताए ।
कोहलपुरमा कसैको प्रतिस्पर्धा नभएका कारण जनरल साईन्स सञ्चालनमा ल्याउनको लागि पहल गरिने उनले प्रतिबद्वता जनाए । उनले विज्ञान र प्रविधिको विकास तथा विस्तारको लागि ऐक्यबद्वता जनाउँदै स्थानीय सरकारसमेत सम्बन्धन प्राप्तिका लागि लाग्ने बताए ।
‘आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । त्यसैले विज्ञान र प्रविधिको अध्ययन गराउनको लागि भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँ–नयाँ आविस्कारहरु गर्न सहज पुग्नेछ’ नगर प्रमुख आचार्यले भने, ‘स्थानीय तहको मुहार फेर्नको लागि विज्ञान तथा प्रविधिको विकासवाट मात्र सम्भव हुन्छ ।’
मध्यपश्चिम विश्वविद्यालय ग्य्राजुयट स्कुल अफ साईन्स एण्ड टेक्नोलोजीका डिन सहप्राध्यापक सुदिप ठकुरीले कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस बाँकेको केन्द्रको रूपमा रहि आएको बताए ।
यहाँको शैक्षिक सुधारको विकाससँगै विज्ञान र प्रविधिको सम्भाव्यता अध्ययन गरी अगाडि बढ्ने उनले बताए । उनले विज्ञान शिक्षाका लागि आफ्नो स्पष्ट नीति ल्याउन जरूरी भएको बताए ।
‘क्याम्पसले विज्ञान तथा प्रविधि क्षेत्रमा उपलब्धि हाँसिल गर्नको लागि स्पष्ट नीतिको अभाव, अनावश्यक राजनैतिक हस्तक्षेप, शैक्षिक गुणस्तरमा ह्रास, उत्पादित जनशक्ति खपतको अभावलाई सहज रूपमा विज्ञान तथा प्रविधि सम्बन्धि अनुसन्धान गर्नको लागि एकीकृत अनुसन्धानको अभाव नभएपछि मात्र विज्ञान तथा प्रविधि सम्भाव्यताको सम्भावना हुन्छ’ ठकुरीले भने, ‘विज्ञान तथा प्रविधि अध्ययनका लागि आवश्यक वातावरणको निर्माण आवश्यक छ ।’
क्याम्पस प्रमुख दान बहादुर हमालले अहिलेको युग भनेको विज्ञानको युग भएपनि साईन्स टेक्नोलोजीको कार्यक्रम सञ्चालन गर्न नसकेको बताए । यस क्षेत्रमा विज्ञान तथा प्रविधिको आवश्यकता भएको हुँदा पहल कदमी अगाडि बढाएको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्