बाँके ।
भारतबाट तस्करी भएर आउने अस्वस्थकर कुखुराको मासु रोक्न गृह मन्त्रालयले पाँच बुँदे निर्देशन दिएको छ ।
खुला सीमाको उपयोग गर्दै भारतमा उत्पादित कुखुरा रातारात नेपाल भित्र्याएर नेपाली भन्दै बजारमा पुग्ने क्रम बढेपछि मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनलाई तस्करी नियन्त्रण गर्न पाँच बुँदे निर्देशन पठाएको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भदौ ३ मा सरोकारवाला सरकारी र व्यवसायीबिच कुखुरा तस्करीबारे छलफल गरेका थिए । छलफलमा कुखुरा कसरी तस्करी हुन्छ, मरेको अस्वस्थ कुखुराको मासु कसरी बजार पुग्छ, सीमाका कसरी ह्याचरी र कोल्ड स्टोर खोलेर भारतको कुखुराको मासु नेपाली भन्दै बिक्री हुने गरेको छ भन्ने प्रमाण समेत प्रस्तुत गरिएको थियो ।
छलफलमा गृहमन्त्री श्रेष्ठले तत्काल सुरक्षा निकायसँग समन्वय गरेर अस्वस्थकर कुखुराको मासु तस्करी नियन्त्रण गर्न निर्देशन दिएका थिए । सोही निर्देशन कार्यान्वयन गर्न मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई लिखित निर्देशन पठाएको हो ।
निर्देशनमा खुला सीमा नाकाबाट गैरकानूनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई कारबाही गर्न, सीमा नाकामा गस्ती निगरानी बढाउन, सीमा क्षेत्रमा अवैध तथा मापदण्ड विपरीत खोलिएका कुखुरा फार्म, वधशाला ह्याचरी र कोल्ड स्टोर हटाउन र भन्सार तथा क्वारेनटाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय गर्न भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्