तुलसीपुर ।
पिठ्युँमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको दिन हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।
उनी पनाति उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन् । चालू शैक्षिक सत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन् । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका हुन् । उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर
पुग्छन् ।
उनले भने, ‘सानोमा पढ्न पाइनँ । गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन् । बुढेसकालमा भए पनि केही कुरा सिकौं भनेर स्कुल पढ्न आएको हुँ ।’ घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ । उनले आफू बाँच्दासम्म पढिरहने बताए ।
उनले भने, ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो । जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौं भन्ने मेरो चाहना हो ।’
उनी पढ्नमा पनि त्यति कमजोर छैनन् । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए ।
उनले भने, ‘परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ । त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।’ अंग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताब उनले राम्रोसँग पढ्न सकेको बताए । डाँगी विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए ।
उनले भने, ‘उहाँ सुरुमा आउँदा अचम्म पनि लागेको थियो, तैपनि कक्षा १ मा भर्ना गर्यौं । अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।’
विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए । उनी विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको विद्यालयले बनाएको छ ।









प्रतिक्रिया दिनुहोस्