प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनिका युवा राख्न एमालेको निर्देशन



नेकपा (एमाले) ले मातहतका कमिटीमा ४० वर्षभन्दा मुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन दिएको छ।

सोमबार बसेको पार्टी सचिवालयको बैठकले प्रदेश कमिटीमा १० प्रतिशत युवा र जिल्लामा न्यूनतम १५ प्रतिशत राख्न निर्देशन दिएको हो।

त्यस्तै, पालिका तहको कमिटीमा एक तिहाइ युवा हुनै पर्ने प्रावधानलाई कडाइका साथ लागु गर्न निर्देशन दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘अघिल्लो निर्णय (सचिवालयको) एक तिहाइ युवा प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णयलाई सिर्जनात्मक रूपले कार्यान्वयन गर्ने निर्देशन दिइएको छ,’ उनले भने।

त्यस्तै एमालेले भदौ मसान्तसम्म गरिसक्ने भनेको प्रदेश कमिटीको अधिवेशन असोजसम्म गरिसक्ने गरी मिति हेरफेर गरेको छ।

एमालेले लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १७, मधेस प्रदेशको अधिवेशन असोज ५ र ६ गते गर्ने भएको छ। बागमतीको असोज ८ र ९, कर्णालीको असोज १० र ११, कोशीको असोज १२ र १३ गते गर्ने भएको छ।

गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असाजे १९ र २० गते गर्ने तय गरिएको छ।

सुदूरपश्चिम प्रदेशको असोज २१ र २१ गते गर्नेगरी मिति हेरफेर भएको ज्ञवालीले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार