भारतबाट लिटरमै साढे ८ रुपैयाँ बढेर आयो पेट्रोलको मूल्य



काठमाडौं ।

भारतीय आयल निगम (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर साढे आठ रूपैयाँ र डिजेलमा सात रूपैयाँ बढेर आएको छ। ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँ घटेको छ।

त्यस्तै, मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ ५० पैसा मूल्य बढेर आएको छ।

नेपाल आयल निगमका अनुसार यो मूल्य अभिवृद्धि कर नजोडिएको दर हो। मूल्य बढ्दा कर बापतको रकम बढ्ने र घट्दा घट्ने भएकोले पेट्रोलियम पदार्थको मूल्य थप केही बढ्नेछ।

त्यसबाहेक निगमले गत आर्थिक वर्षदेखि स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। यही कारण अब पेट्रोलियमको मूल्य बढ्ने भएको छ।

गत आर्थिक वर्ष असार ३१ गतेदेखि परल मूल्यमा डिजेल २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको छ।

यही कारण पेट्रोलको मूल्य प्रतिलिटर ९ देखि १० रुपैयाँसम्मले बढ्ने र ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने सम्भावना छ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन १६ गते मंगलबार