काठमाडौं ।
वर्षा भए पनि केही दिनयता तापक्रम पनि उच्च छ । पानी परेको समयमा केही सितल महसुस भए पनि पानी रहेपछि पुनः उच्च गर्मी हुने गरेको छ ।
सोमबार (आज) काठमाडौंको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ । हिजो काठमाडौंको तापक्रम ३०.५ डिग्री सेल्सियस रहेको थियो ।
धनगढीमा हिजो देशभरकै सबैभन्दा धेरै ३६.९ डिग्री सेल्सियसदेखि तापक्रम मापन भएको थियो । भैरहवामा ३६, सिमरामा ३६.२, विराटनगरमा ३५.३ जनकपुरमा ३५.८, नेपालगञ्जमा ३६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । आज पनि यी क्षेत्रामा हिजोकै आसपासमा तापक्रम रहने उनको भनाइ छ ।
मनसुनमा पनि किन गर्मी हुन्छ ?
छिनछिनमा बादल लाग्नु र हट्नु नै यसको मुख्य कारण हो । बादल फाटेको समयमा जमिनमा आउने सूर्यको प्रकाश पुनः फर्किन नपाउनु नै अहिले गर्मी हुनुको मुख्य कारण भएको मौसमविद् गोविन्द झा बताउँछन् ।
“अहिले मौसममा बदली भइरहने क्रम चलिरहेको छ । केही समय बादल लाग्यो भने केही समयमै हट्छ । बादल हटेको समयमा सूर्यको प्रकाश पृथ्वीमा आउँछ,” मौसमविद् झा भन्छन्, “बादल फाटेको समयमा पृथ्वीमा आएको सूर्यको किरण केही समयमै बादल लाग्दा परावर्तन भएर फर्किन पाउँदैन त्यही भएर अहिले पानी परे पनि गर्मीको महसुस भएको हो ।”
वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा
सूर्यको किरण परावर्तन हुन नसकेपछि पृथ्वीमै रहने गरेका कारण गर्मी हुने गरेको उनले स्पष्ट पारे । “पूर्ण बदली हुने भने डम्म लाग्ने बादलका कारण सूर्यको किरण पृथ्वीमा आउन पाउँदैन र गर्मी हुँदैन ।
पानी परेर पूरै खुल्यो भने पनि सूर्यको किरण परावर्तन हुने भएकाले शीतल हुन्छ,” मौसमविद् झा अगाडि थप्छन्, “सूर्यको किरण आउने तर परावर्तन हुन नपाउँदा बादलले ब्ल्यांकेटको जस्तो काम गरिरहेको हुन्छ । आएको किरण फर्किन नपाएपछि वायुमण्डलमा घुमिरहने भएको त्यसले गर्मी गराउँछ ।”
चिसो हुन पूर्ण बदली भइरहनुपर्ने अथवा पानी परेर आकाश खुला हुनुपर्ने उनको भनाइ छ ।
अहिले सामान्यतः दुई/तीन बजेसम्म चर्को घाम लाग्ने अनि साँझ एक/दुई घण्टा पानी पर्ने गरेको भन्दै मौसमविद् अधिकारी लगातार वर्षा नहुँदासम्म गर्मी कम नहुने बताउँछन् । “लगातार वर्षा भएर दिनभर डम्म बादल लागेको अवस्थामा मात्रै गर्मी हुँदैन ।
तर, एकएक छिनमा चर्को घाम लाग्ने र बादल लाग्ने फाट्ने भइहरँदा गर्मी झन् बढ्छ,” उनी अगाडि थप्छन्, “र, अहिले छिनमै चर्को घाम लाग्ने र बादल लाग्ने भइरहेको छ । यो क्रम अझै केही दिन रहनेछ ।”