काठमाडौँ ।
जनमत पार्टीले पार्टीको नीति र विधानविपरीत काम गरेको भन्दै ५ जनालाई कारबाही गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय, बुद्धनगर काठमाडौंमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले बाराका शिवचन्द्र कुशवाहासहित ५ जना नेतालाई कारबाही गरेको हो।
केन्द्रीय अनुशासन समितिका प्रमुखसमेत रहेका दीपककुमार साहका अनुसार कुशवाहालाई अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै कारबाही गरिएको हो । उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । कुशवाहा गत उपचुनावअघि माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए ।
मंसिरको चुनावमा जसपा उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मतले पराजित उनी वैशाखमा भएको उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग ५ हजारभन्दा बढी मतले हारेका थिए । चुनावमा हार बेहोरेपछि जनमत पार्टीकै नेतृत्वका कारण आफू पराजित भएको भन्दै हिँडेका कारण उनलाई कारबाही गरिएको हो । यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका थिए ।
त्यस्तै सप्तरीका गुलाब मण्डललाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै १ वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ । सप्तरीकै शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको आरोपमा १ वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ ।
त्यसैगरी रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रीय निर्देशन उल्लंघन र गुटबन्दी गरेको भन्दै जनमत पार्टीको केन्द्रीय सचिवालयबाट ३ महिनाका लागि निलम्बन गरिएको छ । कपिलवस्तुका लागि भगवानदास यादवलाई पार्टी बैठकहरू र कामकारबाहीका क्रममा होहल्ला गर्दै अनुशासनहीनता प्रदर्शन गरेकाले १ वर्षका लागि सदस्यमा निष्कासन गरिएको उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समिति प्रमुख साहले जनाएका छन् ।