‘क्रस बोर्डर टूरिजम’को चहलपहल बढ्यो



नेपालगन्ज ।

बाँकेमा ‘क्रस बोर्डर टूरिजम’ को अवधारणा अघि बढेसँगै पर्यटन क्षेत्रमा लगानी बढेको छ । हस्पिटालिटी र मनोरञ्जनात्मक क्षेत्रमा लगानी थपिँदो क्रममा छ । तेस्रो मुलुकका नागरिक मात्र पर्यटक हुन भन्ने मनोविज्ञानलाई चिर्दै नेपालगन्जमा पर्यटन क्षेत्रका सरोकारवाला निकायका अगुवा भारती यपर्यटक आर्कषित गर्न विभिन्न गतिविधि गर्न केन्द्रित छन् ।

बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद डा. धवलशम्शेर राणा क्रस बोर्डर टूरिजमका बारे योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिन्छन् । नेपालगन्ज पछिल्लो समय क्रस बोर्डर टूरिजमका बारे मन्थन हुँदै विभिन्न गतिविधि भएका छन् ।

नेपालगन्जका मेयर प्रशान्त बिष्ट भारतीय पर्यटकलाई नेपालगन्ज र हिलस्टेसनमा घुमाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिन्छन् । नेपालगन्जलाई ‘ट्रान्जिट’ पार्ने गरी नेपाल र भारतबीच क्रस बोर्डर टूरिजमलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायका अगुवाहरु आन्तरिक छलफल र दौडधुपमा लागेका छन् ।

सांसद राणा भन्छन्, ‘नेपालगन्जको पर्यटकीय विकासका लागि क्रस बोर्डर टूरिजम अपरिहार्य छ । अब हामी त्यस दिशामा अगाडि बढ्नुपर्छ ।’ राणा नेपालगन्जले अब भारतीय पर्यटकलाई नजरअन्दाज गर्न नसक्ने पनि बताए ।

उनले भने, ‘जमुनाह नाकाबाट भारतीय नागरिक छिर्नेबित्तिकै फरक तरिकाले हेर्ने नजरमा अब परिवर्तन ल्याउनुपर्छ । सीमावर्ती भारतीय नागरिक पर्यटक बनेर दुनिया घुम्न जान्छन् भने राम्रो वातावरण बनाउन सक्यौं भने नेपाल पनि घुम्न आउँछन् ।’

नेपालगन्जमा क्रसर बोर्डर टूरिजमका आधार तयार भएका छन् । क्यासिनो खेल्न लखनउबाट मात्र होइन दिल्लीबाट समेत आइरहेका छन् । तीनै नागरिकलाई कर्णाली प्रदेशको हिलस्टेसनदेखि बाँके, बर्दियाको पर्यापर्यटन घुमाउन सकिने प्रशस्त आधार तयार भएको छ । छोटो समयको पर्यटनका लागि नेपालगन्जमा फनपार्क बन्दै छन्, त्यसले सीमावर्ती भारतीय नागरिकलाई आकर्षित गर्ने छ ।

लामो समयको टूरिजमका लागि नेपालगन्जबाटै कर्णाली प्रदेशमा माउण्टेन फ्लाइट, टे«किङ जस्ता योजना बन्दै गरेको मेरो प्लानेट फनपार्कका ओमकार मिश्र बताउँछन् । ‘क्रस बोर्डर टूरिजमका लागि आधार तयार गर्दै जान सक्यौँ भने राम्रो हुन्छ । हामी त्यसका लागि सक्रियतापूर्वक लाग्दै छौँ,’ मिश्र भन्छन् ।

नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले क्रस बोर्डर टूरिजम अहिले पनि रहेको बताउँदै अब त्यसलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘कैलाश मानसरोवारको त नेपालगन्ज हब नै हो । तर, अब यसमा मात्र सीमित नभइ थप क्षेत्र विस्तार गर्नुपर्छ ।’ विभिन्न सेवा प्रदायक कम्पनीहरुले नेपालगन्जलाई ट्रान्जिट बनाई कर्णालीका लागि टूर प्याकेज ल्याएका छन् । त्यसमा भारतीय नागरिकलाई जोड सकिने आधार तयार भएको छ ।

भ्रमण वर्ष २०२० सुरु हुनुपूर्व नेपालगन्जको पर्यटन प्रवद्र्धनका लागि लखनउसम्म गएर अन्तरक्रिया र प्रचारप्रसार गर्ने योजना बनेको थियो । तर, कोभिड–१९ का कारण भ्रमण वर्ष नै स्थगित भयो भने लखनउ जाने योजना तत्कालका लागि स्थगित भयो । तर, भारतका पत्रकार र पर्यटन क्षेत्रका अगुवा सहभागी भएको वेष्र्टन टूरिजम मार्ट सम्पन्न भयो ।

पर्यटन प्रवद्र्धन जिल्लास्तरीय समितिका सचिवालय सदस्य केशव न्यौपाने भन्छन्, ‘नेपालगन्ज र भारतीयबीच अब व्यावसायिक पर्यटनको सम्बन्ध गाँस्ने गरी प्रचारप्रसारको काम निकट भविष्यमै गर्नुपर्छ ।’ गाभर होम–स्टेका संस्थापक कृष्ण चौधरीले पर्यापर्यटनका लागि भारतीय पर्यटक ठूलो संख्यामा भित्रिन सक्ने आधार तयार भएको बताउँछन् । अहिले सीमित मात्रामा आइरहेका भारतीय पर्यटकको ठूलो संख्या भिœयाउने गरी प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।

सदियौंदेखिको रोटी, बेटीको सम्बन्धलाई अब व्यावसायिक पर्यटनको सम्बन्धसँग पनि जोड्नु पर्ने आवाज उठ्दै आएको छ । नेपालगन्जको मेयर हुँदा डा. राणाले तत्कालीन नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेटेर क्रस बोर्डर टूरिजमका बारेमा सीमावर्ती क्षेत्रका भारतीय जनप्रतिनिधि र प्रशासकसँग अन्तरक्रियाको वातावारण बनाइ दिन अनुरोध गरेका थिए । अब त्यस्ता गतिविधिलाई थप प्रोत्साहन गरिने राणाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ३० गते शनिबार