20 June 2024  |   बिहिबार, असार ७, २०८१

बाँके र बर्दियामा बढ्दै सर्पदंशका बिरामी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २१, २०८०  

नेपालगन्ज,  पछिल्लो समय बाँके र बर्दियामा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ । भेरी अस्पतालका अनुसार असारको दोस्रो हप्ताभित्र ८० जना सर्पदंंशका बिरामीको उपचार गरिएको छ ।

भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. कृष्णप्रसाद आचार्यले अत्यधिक गर्मीका कारण सर्पदंशका बिरामी बढ्न थालेको बताए । उनका अनुसार दैनिक दशदेखि २० जना बिरामी भर्ना हुन्छन् । पछिल्लो हप्ता यसको संख्या झन बढेको छ । अहिलेसम्म दुई÷तीनजना गम्भीर प्रकृतिका बिरामीलाई लामो समयसम्म उपचार गरिएको छ ।

बाँकेमा भेरी अस्पताल, राँझामा सर्पदंश उपचार केन्द्र र शमशेरगन्जमा सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेका बिरामीको उपचार गरिन्छ । होसियारी अपनाउने र समयमै अस्पतालमा पु¥याउने हो भने सर्पदंशले टोकेका बिरामीको ज्यान बचाउन सकिने चिकित्सक बताउँछन् । विगतको भन्दा अहिले उपचारको सुविधा बढ्दै गएको छ ।

डा. आचार्यका अनुसार विषरहीत सर्पले टोकेमा १० देखि १२ घन्टासम्म बिरामीलाई निगरानीमा राखिन्छ । ‘विष लाग्छ कि लाग्दैन भनेर त्यस्ता बिरामीलाई निगरानीमा राख्छौं,’ उनले भने, ‘निगरानीका क्रममा कुनै प्रकारको लक्षण नभेटिएको अवस्थामा घर पठाइदिन्छौं,’ डा. आचार्यले भने ।

उनका अनुसार बिरामीको जटिलता हेरेर दुई हप्तासम्म आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिन्छ । सर्पदंशबाट बच्नका लागि राति सुत्नुभन्दा पहिले ओछ्यान राम्ररी सफा गरेर, झुल टाँगेर मात्र सुत्नुपर्ने चिकित्कहरुले सुझाव दिएका छन् ।
डा. आचार्य भन्छन्, ‘घरवरपर सरसफाइ राख्नुपर्छ । झाँडीहरु राख्नु हुँदैन । पूर्वसतर्कता अपनाउने र सर्पले टोकेमा तत्काल अस्पताल ल्याउने हो भने बिरामीको ज्यान बचाउने अवस्था रहन्छ ।’

प्रकाशित मितिः बिहिबार, असार २१, २०८०     2:13:03 PM  |