शुभाकर विश्वकर्मा,कोहलपुर
कोहलपुर नगरपालिकामा सञ्चालित १३ वटा संस्थागत विद्यालय कारबाहीमा परेका छन् । शैक्षिकसत्र २०८० को एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अध्यावधिक नगरेका संस्थागत विद्यालय कारबाहीमा परेका हुन् ।
शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमालका अनुसार ती विद्यालयहरुलाई प्रतिविद्यालय २५ हजार रुपैयाँका दरले कारबाही गरिएको छ ।
जेठ २४ गते शाखाले उल्लेखित विद्यालयका नाममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली निर्धारित समयसीमाभित्र गर्न आह्वान गरेको थियो । निर्धारित समयभित्र अद्यावधिक गरी शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा ७ (झ) बमोजिम निर्देशन पालना नगरेका कारण जरिवाना तिराइएको उनले बताए ।
सोही ऐनको दफा १७ को उपदफा २ (ग) को कारबाही आकर्षित हुन गएकाले कोहलपुर नगरपालिका नगर शिक्षा समितिको २०७९ चैत १६ गतेको निर्णयअनुसार ती विद्यालय कारबाहीमा परेका हुन् । कारबाहीमा पर्ने विद्यालयहरुमा वेष्टर्न इंलिस मेडियम सेकेण्डरी स्कुल, लर्ड बागेश्वरी एकेडेमी, रुपाचा विलिभर्स इंलिस स्कुल, फिनेक्स एकेडेमी रहेको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
यस्तै, बाल विज्ञान इंलिस बोर्डिङ स्कुल, न्यू कर्णाली इंलिस बोर्डिङ स्कुल, समता स्कुल, संकल्न शिक्षालय र ह्याप्पी किड्स मन्टेश्वरी छन् । एस मदरल्याण्ड, बागेश्वरी विद्याश्रम, टाइम्स मल्टिपल एकेडेमी र कोहलपुर इंलिस मेडियम स्कुल पनि कारबाहीमा परेका छन् ।
सूचना जारी भएको मितिले सात दिनभित्र अनिवार्यरुपमा जरिवाना दाखिला गर्न सूचित गरिएको छ । निर्धारित समयमा जरिवाना दाखिला गरी प्रणाली अद्यावधिक नगरेमा थप कारबाही प्रक्रिया अघि बढाइने हमालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । ‘विद्यालयहरुलाई पटकपटक भनिएको थियो । शाखाको निर्देशन पालना गर्नु भएन । प्रणालीमा नआएका विद्यालयलाई कारबाही गरेका छौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्