कोहलपुर, बैजनाथ–१ की दलित महिला वडा सदस्य ४३ वर्षीय धनकली सुनारमाथि जातीय विभेद गर्नेविरुद्ध मुद्दा दर्ता भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा मंगलबार जातीय विभेदसम्बन्धी मुद्दा दर्ता भएको हो ।
असार १७ गते साँझ ८ः३० बजेतिर बैजनाथ–१ चाँदनी टोलका २५ वर्षीय भुवन बुढाले गालीगलौज गर्दै घरमा समेत घरमा ढुंगामुढा गरेका थिए । जग्गा विवादको विषयलाई लिएर अमानवीय व्यवहार गर्ने बुढाविरुद्ध मंगलबार (जातीय भेदभाव तथा छुवाछुत)को मुद्दा दर्ता गरेको वडा सदस्य धनकलीले जनाइन् ।
भुवनविरुद्ध किटानी जाहेरीसहित जातीय भेदभाव तथा छुवाछुतको मुद्दा दर्ता गरेको उनले बताइन् । उनीविरुद्ध कडाभन्दा कडा कारबाहीको माग उनले गरिन् ।
नेपालको संविधान २०७४ को दफा ४ मा छुवाछुत तथा जातीय भेदभाव गर्न पाइँदैन भनि स्पष्ट व्यवस्था गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जातीय विभेदविरुद्धको मुद्दा दर्ता भएको पुष्टि गरे । जातीय विभेदको मुद्दा दर्ता भएसँगै बुढालाई पक्राउ गरिएको उनले जनाए । अब उनीहरुविरुद्ध थप अनुसन्धान प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्