20 June 2024  |   बिहिबार, असार ७, २०८१

कोहलपुरको बलात्कार मुद्दाः १८ लाखमा मिलापत्र, बिचौलियाले लगे ४ लाख

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २०, २०८०  

मिलापत्र गराइएको कागज
मिलापत्र गराइएको कागज

कृष्ण ओली । बाँके ।

जबर्जस्ती करणी मुद्दालाई १८ लाख रूपैयाँमा मिलापत्र गराउने सातजनालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीमा उजुरी दर्ता गराउन पुगेकी किशोरीलाई डर धम्की दिई १८ लाखमा मिलापत्र गराउने समूहका नाइकेसहित सातजना पक्राउ परेका हुन् । मिलापत्र भएको केही दिनपछि किशोरीले जबर्जस्ती करणीको उजुरी दिएपछि अनुसन्धान गर्दै जाँदा १८ लाखमा मिलापत्र भएको खुलेको थियो ।

जबर्जस्ती करणी जस्तो गम्भीर अपराधमा पीडितलाई डर, धम्की देखाएर मिलापत्र गरेको पाइएपछि संग्लनहरूको खोजीमा कोहलपुर प्रहरी जुटेको थियो । कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले मिलापत्र गरेर घटना लुकाउने सातजनालाई पक्राउ गरिएको जानकारी दिए ।

‘अनुसन्धानलाई प्रभाव पार्नसक्ने मुख्य मान्छेहरूलाई पक्राउ गरिसकेका छौं । चारजना अझै फरार छन्,’ उनले भने, ‘बाँकी फरारहरूको समेत खोजी गरिरहेका छौं ।’

पक्राउ पर्नेमा दुवै पक्षको मिलापत्र मस्यौदा बनाउन भूमिका खेल्ने कोहलपुर–१२ का ३२ वर्षीय विजय पोखरेल, विचौलियाको भूमिका खेल्ने कोहलपुर–११ का ३२ वर्षीया माया हमाल, सोही ठाउँकै ३५ वर्षीया रञ्जिता चौधरी रहेको कोहलपुर प्रहरीले जनाएको छ । त्यसैगरी मिलापत्र कागजमा साक्षी बसेर हस्ताक्षर गर्ने कोहलपुर–११ का ५३ वर्षीया पवित्रा ढकाल, ४२ वर्षीय रामकिसन थारू र ४० वर्षीया भगवती थारू छन् ।

बलात्कार आरोपी १९ वर्षीय अभिका आमासहित चारजना भने फरार रहेको डिएसपी तिवारीले मिसन टुडेलाई जानकारी दिए । मिलापत्र कागजमा जबर्जस्ती करणी र रकम लेनदेनबारे उल्लेख नभएको उनले बताए । ‘मिलापत्र कागजमा किशोर र किशोरीबीच प्रेम सम्बन्ध रहेको तथा बिहे गर्नका लागि सहमतिमै शारीरिक सम्पर्क भएको मात्रै उल्लेख छ,’ डिएसपी तिवारीले भने, ‘दुवैजनाबीच मनमुटाब भएकाले आपसी समझदारीमै आफ्नो आफ्नो बाटो लाग्ने उल्लेख छ । चलाखीपूर्ण तरिकाले कागज गरेको देखिन्छ ।’

गत जेठ २१ गते ईलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता गर्न पुगेकी किशोरीलाई डर, धम्की र प्रलोभन देखाएर बाहिर निकालेका थिए । पीडितलाई प्रलोभनमा पारेर सोही दिन नै पीडकका परिवार र विचौलियाले १८ लाख दिएर मिलापत्र गराएका थिए । सोही दिन नै एभरेष्ट बैंक कोहलपुर शाखामा किशोरीको नाममा खाता खोल्न लगाएर किशोर परिवारले १८ जना रूपैयाँ हालिदिएका थिए ।

पीडित किशोरीका अनुसार सोही दिन नै पहिलोपटकमा एउटा खाताबाट १४ लाख र दोस्रोपटकमा अर्को खाताबाट चार लाख गरेर १८ लाख रूपैयाँ जम्मा गरिएको थियो । भोलिपल्ट जेठ २२ गते विचौलिया हमालले किशोरीको नाममा रहेको खाताबाट चेक काटेर चार लाख रूपैयाँ लिएकी थिइन् ।

‘डर, धम्की देखाएर १८ लाखमा मिलापत्र गर्न लगाएर मेरो खाता खोल्न लगाएर त्यसमै १८ लाख हालिदिएका हुन्,’ पीडित किशोरीले मिसन टुडेसँग भनिन्, ‘त्यसमध्ये चार लाख रूपैयाँ माया हमालले लिनुभएको हो । अरू पैसा बैंकमा नै छ । त्यो पैसा के गर्ने भन्नेबारे अदालतको आदेशअनुसार नै गर्छुँ ।’

यस्तो छ कानुनी व्यवस्था

यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ मा थपिएको दफा २२७ क मा करणीसम्बन्धी कसुरमा मिलापत्र गर्न वा गराउन नहुने भनिएको छ ।

उपदफा (१) मा यस परिच्छेदबमोजिम करणीसम्बन्धी कसुर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसुरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसुर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दबाब दिन वा प्रभावमा पार्न हुँदैन भन्ने व्यवस्था छ ।

उपदफा (१) बमोजिमको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवान हुनेछ । जारी भएको अध्यादेशमा उपदफा (१) बमोजिमको कसुर सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई उपदफा (२) बमोजिम हुने सजायमा थप ६ महिना कैद सजाय हुनेछ ।

दफामा जनुसुकै कुरा लेखिएको भए ता पनि कानुनबमोजिम मतियार वा दुरूत्साहन मानिने कसुरमा सोहीबमोजिम मुद्दा चलाई सजाय हुनेछ भनिएको छ ।

प्रकाशित मितिः बुधबार, असार २०, २०८०     9:00:38 AM  |