20 June 2024  |   बिहिबार, असार ७, २०८१

कोहलपुरमा किशोरीलाई बिहेको प्रलोभनमा पारेर जबर्जस्ती करणी, आरोपित पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २०, २०८०  

कृष्ण ओली । बाँके ।

बिहेको प्रलोभनमा पारेर १९ वर्षीय किशोरले चार महिनादेखि एक किशोरीलाई जबर्जस्ती करणी गरेको खुलेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा पीडित किशोरीले जाहेरी दर्ता गरेपछि उक्त विषय बाहिरिएको हो । कोहलपुर नगरपालिका–२ बर्दहवाका अभी थारुले १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

पीडित किशोरीले किशोरविरूद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा जबर्जस्ती करणीको उजुरी दिएकी छिन् । गत जेठ ३२ गते किशोरीले बिहेको विश्वास दिलाएर शारीरिक सम्बन्ध राखेको भन्दै जबर्जस्ती करणीको जाहेरी दर्ता भएको कोहलपुर प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

‘बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध राखेर आफ्नो अस्मितामाथि खेलवाड गरेको भन्दै जोहरी दर्ता भएको छ,’ उनले मिसन टुडेसँग भने, ‘किशोरविरूद्ध जबर्जस्ती करणीको उजुरी परेपछि आरोपितलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’

१८ वर्षीय किशोरीको उजुरीको आधारमा अभि पक्राउ परेका छन् । उनीमाथि जबर्जस्ती करणीसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट हिरासतमा राख्नका लागि अनुमति लिएर कोहलपुर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । मुलुकी अपराध संहिता २०७४ को करणीसम्बन्धी कसुरमा कसैले जबर्जस्ती करणी गर्न हुँदैन भन्ने उल्लेख छ ।

किशोरीले मुलुकी अपराध संहिता २०७४ को करणीसम्बन्धी कसुरमा नै टेकेर किशोरविरूद्ध जबर्जस्ती करणीमा मुद्दा दिएकी हुन् । एउटै स्कुलमा फरकफरक कक्षामा पढ्ने किशोरकिशोरी एक वर्षयता प्रेम सम्बन्धमा थिए । शारीरिक सम्बन्ध राख्न आफूले नमानेपछि बिहे गर्ने आश्वासन दिएर शारीरिक सम्बन्ध राखेको पीडित किशोरीले बताइन् ।

‘हामीबीच अफियर चले पनि शारीरिक सम्बन्ध राख्न म तयार थिइन् । गत माघ तिमीसँग बिहे गर्छु सम्बन्ध राखे पनि के हुन्छ र तिमी मेरै त हाँै नी भनेपछि सम्बन्ध सुरू भएको हो,’ उनले भनिन्, ‘बिहेको नाटक गरेर मेरो अस्मितामाथि खेल्नको लागि पो रहेछ ।’

गत जेठ ६ गते शारीरिक सम्बन्ध भएपछि किशोरले आफूलाई सामाजिक सञ्जाल र फोनमा समेत ‘ब्लक’ गरेको उनले बताइन् । ‘बिहे गर्ने विश्वासमा पारेर शारीरिक सम्बन्ध राखेर गायब भएपछि जेठ १८ गते उसको घरमा गएकी थिएँ,’ किशोरीले भनिन्, ‘उसका परिवारका सदस्यहरूले भगाइसकेछन् । मलाई शारीरिक सम्बन्धका लागि प्रयोग गरेको थाहा पाएपछि उजुरी दिएकी हुँ ।’

पहिला शारीरिक सम्बन्धका लागि आफूले नमाने पनि घरमै आएर बिहे गर्ने हो भनेपछि मात्र विश्वासमा शारीरिक सम्बन्ध भएको उनले
बताइन् । डिएसपी तिवारीले बिहे गर्ने प्रलोभनमा पारेर पटकपटक जबर्जस्ती करणी गरेको किशोरीले जाहेरी दिएको बताए ।

‘मुलुकी अपराध संहिता २०७४ को करणीसम्बन्धी कसुरमा करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारेरसमेत करणी गर्नु हुँदैन भनिएको छ,’ उनले मिसन टुडेसँग भने, ‘किशोरीलाई बिहे गर्ने भनेर करकाप र अनुचित प्रभावमा पारेको देखिएकोले जबर्जस्ती करणीमा मुद्दा चलेको हो ।’

के छ कानुनी व्यवस्था

२०७५ को भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ मा कसैले जबर्जस्ती करणी गर्न हुँदैन, कसैले कुनै करणी गरेमा वा मञ्जुरी लिएर पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ भन्ने कानुनी व्यवस्था गरेको छ ।

सोही स्पष्टीकरण खण्डमा करकाप, अनुचित प्रभाव, डर त्रास झुक्यानमा पारी वा अपरहण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन भन्ने उल्लेख छ । होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । गुद्दार वा मुखमा लिंग पसाएमा गुदद्वार, मुख वा योनीमा लिंग केही मात्र परेको भएमा, लिंगबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिनेछ भन्ने कानुनी व्यवस्था छ ।

जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरि कैद सजाय हुने व्यवस्था गरेको छ । जसमा १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्मको कैद सजाय, १० वर्ष वा १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म कैद, १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म कैद, त्यसैगरी १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद र १८ वर्ष वा १८ भन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

त्यसैगरी माथि जेसुकै कुरा लेखेको भए पनि बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । एचआइभी तथा अन्य यौन रोग लागेको व्यक्तिले उल्लिखित कार्य गरेमा थप कैद सजायको व्यवस्था गरेको छ । साथै सामूहिकरूपमा जबर्जस्ती करणी गरेमा गर्भवती, अशक्त, अपांग, शारीरिक वा मानसिकरूपमा अस्वस्थ महिलालाई वा हतियार देखाई जबर्जस्ती करणी गर्ने थप सजाय हुने व्यवस्था ऐनमा छ ।

सोहीको दफा २२० मा थुनामा रहेको व्यक्तिसँग करणी गरेमा, दफा २२१ मा आफ्नो संरक्षणमा रहेको व्यक्तिलाई जबर्जस्ती करणी गरेमा थप कैद सजाय हुने व्यवस्था ऐनमा गरेको छ । त्यसैगरी यौन दुव्र्यवहार गर्न नहुने, बालयौन दुरूपयोग गर्न नहुने अप्राकृतिक मैथुन गर्न नहुने, पशुकरणी गर्न नहुनेसमेतको व्यवस्था यस ऐनमा गरेको छ ।

प्रकाशित मितिः बुधबार, असार २०, २०८०     7:17:45 AM  |