लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार निर्माणमा शून्य प्रगति



कमल डाँगी । नेपालगन्ज ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाभित्र पर्ने बाँकेस्थित खजुरामा प्रस्ताव गरिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको जेनतेन वर्ष दिन बितेको छ । तर बितेका वर्षमा पूर्वाधार निर्माण सम्बन्धित कुनै काम सुरु हुन सकेन । कुन ठाउँ पढाउने भन्ने टुंगो नभए पनि सोमबार नेपालगन्जमा आयोजित पहिलो वार्षिकोत्सव समारोहमा उपकूलपति प्राध्यापक डा. विनोदप्रसाद ढकालले चालु शैक्षिकसत्रबाट सञ्चालन गरिने कार्यक्रम सार्वजनिक गरे ।

उनले कार्यक्रम सार्वजनिक गर्दैगर्दा सहभागीहरुबीच विश्वविद्यालयमा अब पढाइ हुन्छ भन्ने आशा त पलाएको छ तर ठाउँको टुंगो नलाग्दा संशय पैदा भने भएको छ । उपकूलपति ढकालका अनुसार चालु शैक्षिकसत्रबाट बिटेक इनआइटी, बिटेक सिएस एण्ड एआई, बिटेक इनआइटी इन्जिनियरिङलगायत पाँचवटा शैक्षिक कार्यक्रम सञ्चालन गरिने छ । अर्को वर्षको शैक्षिकसत्रबाट थप कार्यक्रम सञ्चालन हुने कार्यक्रम रहेको उपकूलपति ढकाल बताउँछन् ।

उनका अनुसार खजुराको केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ र सूचना प्रविधि र निकट भविष्यमा दाङ र रुपन्देहीमा कृषि, वन र पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुने छन् । तर यि कार्यक्रम सञ्चालनका लागि पूर्वाधार खोज्न सकस परेको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुरा गाउँपालिका–८ मा प्रस्ताव गरिएको छ । यहाँको एक सय बिगाह जग्गा विश्वविद्यालयको नाम गर्ने वा लिजमा दिने भन्ने रायसहित गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सरकारसँग अनुमति मागेको छ । उक्त अनुमति हाल नआइसकेले विश्वविद्यालयका लागि पछिल्लो एक वर्षमा भौतिक पूर्वाधार निर्माणको काममा सिन्कोसमेत भाँचिएको छैन ।

जग्गामा स्थानीयले भोगचलन गरेका कारण उक्त समस्या समाधान नगरी पूर्वाधार निर्माणको काम हुने सम्भावना पनि कम छ । वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिँदै स्थानीय बासिन्दासमेत रहेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति नक्की खाँले त्यसैको संकेत गर्दै भने, ‘विश्वविद्यालयको वर्ष दिन पुगेको अवसरमा हामी यता खुसियाली मनाउँदै गर्दा विश्वविद्यालयलाई दिने भनिएको जग्गामा वर्षौँदेखि भोगचलन गर्दै आएका जनताको मनमा अनेक कुरा खेलिरहेका छन् । यस विषयमा सरोकारवाला निकायले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।’

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक (तुफान)ले जग्गाका विषयमा कानुनबमोजिम सरकारसँग माग गरिएको हुँदा त्यसको निकास चाँडो निस्किनुपर्ने बताएका छन् । उनले हाल जग्गाको संरक्षण आफूहरुले गरिरहेको बताए । विश्वविद्यालय स्थापनाकालमा महŒवपूर्ण भूमिका निर्वाह गरेका खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले वर्ष दिन पूरा हुँदा पनि पूर्वाधार निर्माणको काममा प्रगति नहुनु दुःखद् भएको बताउँदै कार्यक्रममा भने, ‘तत्काल पूर्वाधार निर्माण हुन नसक्ने अवस्था छ भने जनक शिक्षा सामग्री केन्द्र वा अन्य कुनै विकल्प खोजेर खजुरामै विश्वविद्यालयको कार्यालय राख्नुपर्छ र पढाइ पनि त्यही सुरु गर्नुपर्छ ।’

कक्षपतिले जनक शिक्षा सामग्री केन्द्रको भवन सबैभन्दा उत्तम विकल्प भएको बताउँदै त्यसका लागि केन्द्रीय सरकारलाई जसरी पनि मनाउनुपर्ने बताए । ‘त्यो दिन मानिरहेका छैनन् भन्ने सुनेको छँु तर विश्वविद्यालयलाई पूर्वाधार सम्पन्न बनाउन लाग्ने हो भने जसरी पनि जनक शिक्षाको भवनलाई उपयोग गर्नुपर्छ,’ कक्षपतिले भने । लुम्बिनी प्रदेश विश्वविद्यालयको काम तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा अघि बढेको थियो भने कूलप्रसाद केसीको पालामा राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आएको थियो ।

खजुरामा एक सय बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धताअनुसार बाँकेमा विश्वविद्यालय स्थापना भएको कक्षपति बताउँछन् । अन्त सार्ने प्रपञ्च भए पनि सार्न नदिएको उनको भनाइ छ । खजुरामा प्रस्ताव गरिएको जग्गामा पूर्वाधारको काम सुरु नहुने देखेपछि नेपालगन्जस्थित जिल्ला वन कार्यालयको भवनबाट सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ । आठजना कर्मचारीका भरमा कार्यालय सञ्चालनमा छ । उपकूलपति ढकालले व्यवस्थित ठाउँको टुंगो नलागे हाल कार्यालय सञ्चालनमा रहेको भवनको भुइँ तल्लाको ६ कोठाबाटै पढाइ सुरु गर्ने बताएका छन् ।

वर्ष दिन जसरी बिते पनि अब महŒवपूर्ण कामहरु हुने ढकाल बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो एक वर्ष प्रारम्भिक चरणकै काम गर्न बिते, अब पढाइसँग रणनीतिक कामहरु अघि बढ्छन् ।’ स्थापना दिवसको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौर, कूलपति एवम् मुख्यमन्त्री डिल्ली चौधरी, प्रतिनिधिसभा सदस्य दिपाशर्मा, प्रदेश सामाजिकमन्त्री चन्द्रशेखर गुप्ता, प्रदेशसभा सदस्य बादशाह कुर्मीलगायतले विश्वविद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्ने वाचा गरेका छन् । कूलपति चौधरीले प्रदेशको गौरबको आयोजनाका रुपमा रहेको विश्वविद्यालयलाई आर्थिकरुपमा कमी हुने नदिने प्रतिबद्धता जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार