शुभाकर विश्वकर्मा । कोहलपुर ।
बैजनाथ गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य धनकली सुनारमाथि जातीय विभेद भएको छ । सामान्य घरायसी विवादमा जनप्रतिनिधिसमेत रहेकी वडा सदस्य सुनारमाथि जातीय विभेद भएको हो ।
छिमेकी भुवन बुढाबाट विभेदको सिकार भएको उनले बताएकी छिन् । घटना, असार १७ गते साँझ ७ बजेतिरको हो । ‘उहाँले एक्कासी मलाई गालीगलौज गर्नुभयो । उहाँसँग झैझगडा, लिनुदिनु केही पनि छैन,’ वडा सदस्य सुनारले भनिन्, ‘मलाई एक्कासी कमिनी, गाई खाने डुमिनी भन्नुभयो । धेरै अश्लिल गाली गर्नुभयो ।
’ भुवनले बारम्बार गाली गर्दा पनि धेरै बेरसम्म सहेर बसेको उनले बताइन् । एक घण्टापछि फेरि मलाई जातलाई आधार बनाएर कमिनी, डुमिनी, तलाई त मार्नुपर्छ भन्ने धम्की दिएको उनको भनाइ छ । आज राति मारेर यसलाई व्यवस्था गर्नुपर्छ भनेर आफूमाथि अन्याय गरेको सुनारको दाबी छ ।
उनले भनिन्, ‘यसलाई मार्नुपर्छ भनेर बत्ती निभाएर मलाई ढुंगा प्रहार भयो । मसहित मेरो परिवारमाथि ज्यान मार्ने उद्देश्यले २०÷२५ पटक ढुंगा प्रहार भयो । मेरो घरको छानामा समेत ढुंगामुढा भएको छ ।’ नुहाइरहेका आफ्ना श्रीमान् र ८ वर्षको छोरालाई समेत ढुंगाले प्रहार गर्दा भागेर बाँच्न सफल भएको वडा सदस्य सुनार बताउँछिन् । आफू र आफ्नो परिवारमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुँदा पनि सहेर बसेको उनको भनाइ छ ।
‘यो मेरो परिवारमाथि मात्रै भएको विभेद होइन । यो सिंगो दलित समुदायमाथि भएको विभेद हो । हामीलाई गाउँमा बस्ने वातावरण नै भएन । मलाई राज्यले न्याय दिनुपर्छ भनेर कानुनी प्रक्रियामा गएकी छुँ,’ मिसन टुडेसँग कुराकानी गर्दै सुनारले भनिन् ।
जातीय विभेद गर्दै ज्यानै मार्ने धम्की दिने भुवनसँग आफ्नो कुनै पनि रीस, मनमुटाव केही पनि नभएको र एक्कासी आफूलाई दलित समुदायको भएकै कारण होच्याएर बोलेको उनको आरोप छ । सुनारले आफूले जसरी पनि न्याय पाउनुपर्ने बताउँछिन् । वडा नम्बर १ का वडा अध्यक्ष रुपबहादुर मल्ल वडा सदस्य सुनारमाथि जातीय विभेद भएको भन्ने कुरा आएको बताउँछन् ।
भुवनकी श्रीमतीको पनि धम्की
भुवनसँग मेरो कुनै पनि सम्बन्ध नै छैन । उनको परिवारसँग जग्गाको विषयमा सामान्य विवाद थियो । उनीहरुले ५÷६ वर्षदेखि मलाई दबाएर मेरो जग्गा हडप्न खोजेका थिए । मैले बारम्बार यसो नगर्नु, समाजमा सबैजना मिलेर बस्नुपर्छ भनेको थिएँ । भुवनको श्रीमतीको नाम कमला खत्री हो ।
१७ गते बिहानैदेखि उनले उक्त जग्गामा घाँस काटिरहेकी थिइन् । त्यसो नगर्न भनेको थिएँ । उल्टो उनले पनि मेरो बाउको सम्पत्ति होइन । हाम्रो हो भन्दै थिइन् । उनले पनि मैले चाहे भने हसियाँले तेरो हाँत खुट्टा काटिदिन्छु भनेकी थिइन् । रोक, साँझ मेरो बुबा र श्रीमान् आउन दे । मैले सानो बच्ची हो भनेर सामान्यरुपमा लिएको थिएँ ।
आफू जिम्मेवार व्यक्ति भएका कारण बच्चीको कुरामा लाग्नु हुँदैन भनेर सोचेको थिएँ । म सामान्यरुपमा बसिरहेको बेलामा उसको श्रीमान् आएर हेर्नुहोस् सर, मलाई हातपात, ज्यानैमार्ने धम्की आयो ।
घटनाकी प्रत्यक्षदर्शी भावना विक वडा सदस्य सुनारमाथि जातीय विभेद भएको दाबी गर्छिन् । उनी भन्छिन्, ‘म भान्सामा खाना बनाउँदै थिएँ । एक्कासी हो हल्ला सुनेँ । उहाँ (भुवन बुढा)ले रक्सी पनि खानु भएको थियो । यो कमिनी, डुमिनीलाई मार्छु आज भन्दै थिए । उनकी श्रीमती र आमाले घर लिन खोज्दा पनि मानेनन् । ढुंगाले हान्नुभयो । डुम भनेर पनि गाली गर्नुभयो ।’
दलित सेवा संघ बाँकेका सचिव सचिन मेघनाथले घटना निन्दनीय भएको बताए । उनका अनुसार जनताद्वारा निर्वाचित जनप्रतिनिधिमाथि नै जातीय विभेद हुनु अमानवीय घटना हो । बैजनाथमा घटेको घटना देशभरि रहेका दलितमाथि भएको विभेद भएको भन्दै यस्तो अपमानजनक व्यवहारविरुद्ध कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्