4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको भवन शिलान्यास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २१, २०८०  

कोहलपुर, त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय नेपालगन्ज बाँकेको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । कोहलपुर–२ तेह्रबिगाह नजिक पूर्व–पश्चिम राजमार्गको छेउमै उक्त भवनको शिलान्यास गरिएको हो ।
एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले भवनको धार्मिक विधिपूर्वक शिलान्यास गरे । उक्त अवसरमा बोल्दै उनले परीक्षा नियन्त्रण कार्यालयको प्रशासनिक भवन कोहलपुरमा बन्नु सुखद भएको बताए । तीन प्रदेशको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा रहेको कोहलपुरमा कार्यालय स्थापना हुनु पश्चिम क्षेत्रकै लागि सकारात्मक कुरा भएको उनको भनाइ छ ।

उनले भवनको निर्माण र सञ्चालनका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने जनाए ।
‘लामो प्रयासपछि हामी निर्माणको चरणमा पुगेका छौँ । यो हाम्रो लागि पनि खुसीको कुरा हो,’ उनले भने, ‘सबैभन्दा खुसीको कुरा अब विद्यार्थीहरुले यससम्बन्धी कामका लागि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।’ उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतले आफू निर्वाचित भएर आइसकेपछि कार्यालयसँग निरन्तरको संवाद र प्रयासपछि मात्रै कार्यालय निर्माण सम्भव भएको बताए ।

तीनवटा प्रदेशको विद्यार्थीका लागि धेरै सहज हुने उनले विश्वास व्यक्त गरे । ‘मैले वडा नम्बर तीन ठाउँमा जग्गा देखाएको थिएँ । जसमध्ये यो जग्गा उपयुक्त भयो,’ उनले भने, ‘पहिला पनि प्रयास नभएको होइन । तर हामीले विशेष पहल गरेर निर्माण सुरु भएको छ ।’

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले पश्चिम क्षेत्रलाई प्राथमिकतामा राखेर कोहलपुरमा कार्यालय स्थापना गर्न लागिएको बताए । कोहलपुरमा जग्गा प्राप्त भएमा अत्याधुनिक हल निर्माण पनि गरिने उनी बताउँछन् ।

त्यसका लागि अहिलेदेखि नै प्रयास भइरहेको उनले बताए । उक्त भवन बालमैत्री, अपांगतामैत्री, महिलामैत्री र भूकम्पमैत्री बन्नेछ । कूल पाँच करोड ४८ लाख ८५ हजार दुई सय ७३ रुपैयाँ लागत छ । श्री जयाँ भवानीले उक्त प्रशासनिक भवन निर्माण गर्नेछ । उक्त भवन २०८० को चैत २६ गते निर्माण सम्पन्न हुनेछ ।

प्रकाशित मितिः बिहिबार, बैशाख २१, २०८०     11:48:21 AM  |