नरैनापुरका आगलागी पीडितलाई राहत



कोहलपुर,  नरैनापुर गाउँपालिकाका आगलागी पीडितलाई खाद्यान्न वितरण गरिएको छ । आइतबार आगलागीबाट पीडित भएका स्थानीयलाई राहत वितरण गरिएको हो ।
आगलागीबाट पूर्णरुपमा घर जलेका अग्नीपीडितलाई विकास संवाद समृद्धिको बाटो नामक संस्थाले राहत वितरण गरेको हो । संस्थाकी अध्यक्ष माया गौतमका अनुसार आगलागीबाट पीडित व्यक्तिहरुलाई प्रभावित क्षेत्र मै पुगेर राहत वितरण गरिएको छ ।

जिल्लाको विकट क्षेत्रका रुपमा रहेको नरैनापुरका विभिन्न ठाउँमा आगलागी हुँदा समस्यामा परेका घर परिवारलाई खाद्यान्न सहयोग गरिएको उनले बताइन् । उनका अनुसार १० जना घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । पूर्णरुपमा जलेर नष्ट भएका व्यक्तिहरुलाई सहयोग गरिएको उनको भनाइ छ ।
प्रत्येक व्यक्तिलाई चामल, दाल नुन र तेल वितरण गरिएको अध्यक्ष गौतमले जनाइन् ।

यो खाद्यान्न सहयोग जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालको सहयोगमा वितरण गरिएको संस्थाले जनाएको छ । वितरणमा विकास संवाद समृद्धिको बाटो संस्थाले राहत वितरणमा सहजीकरण गरेको उनले बताइन् ।

प्रतिनिधिसभा सदस्य ढकालले दुःखमा परेका नागरिकको सहजताका लागि सहयोग गरिएको बताए । नरैनापुरमा आगलागीको चरम समस्या रहेको भन्दै त्यसको दीर्घकालीन समाधान आवश्यक रहेको उनको भनाइ छ ।
नरैनापुरमा बर्सेनि आगलागीका कारण लाखौ धनजनको क्षति हुने गरेको छ । आगलागीको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच समन्वय हुन आवश्यक रहेको उनले जनाए ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख १० गते आइतबार