कोहलपुर, कोहलपुरमा मंगलबार समसामयिक साहित्यिक विमर्श गरिएको छ । बागेश्वरी साहित्य परिषद्को आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको समन्वयमा साहित्यिक विमर्श गरिएको हो ।
बागेश्वरी क्याम्पस कोहलपुरमा आयोजना भएको उक्त कार्यक्रमको अध्यक्षता परिषद्का अध्यक्ष उपप्राध्यापक पुष्कर रिजालले गरेका थिए भने सहजीकरण उपप्राध्यापक नवीन किशोर रत्नले गरेका थिए । पूर्णिमा साहित्य प्रतिष्ठानकी उपाध्यक्ष सुमीत्रा न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि भाषा आयोगका सदस्य, वरिष्ठ कवि तथा समालोचक डा.अमर गिरीले ‘समसामयिक साहित्यका विविध पक्षमा चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै डा. गिरीले साहित्य र जीवनको गहिरो सम्बन्ध रहने बताए । उनले साहित्य नभए जीवन शून्य र निरस हुने भन्दै हरेक मान्छेमा कविको गुण हुने विचार राखे । भाषामा संस्कृति र सभ्यता बाँच्ने हुनाले भाषा आयोगले लोपोन्मुख भाषाको संरक्षण र विकसित भाषाको प्रयोग विस्तारका योजना सरकारलाई पेस गर्ने बताए ।
क्याम्पस प्रमुख दानबहादुर हमालले यस्ता कार्यक्रमले सिर्जनात्मक क्षमता विकासमा मद्दत पुग्ने भन्दै अतिथिलाई धन्यवाद दिए । कार्यक्रममा स्ववियु सभापति देवेन्द्र बुढा, बालज्योति विद्यालयका प्रधानाध्यापक दामोदर पौडेल, ज्ञानोदय पुस्तकालयका उपाध्यक्ष मणिप्रसाद गैरे, पूर्णिमाका सचिव बद्री ढकाल, कथाकार पूर्मल बस्नेत, गीतकार ललितप्रकाश चन्दलगायत प्राध्यापक, विद्यार्थी र साहित्यकारहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्