17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

नगरविकासलाई वाइसीएलले ज्ञापनपत्र बुझायो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र २१, २०७९  

कोहलपुर :  योङ कम्युनिष्ट लिग (वाइसीएल) कोहलपुरले नगर विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै वाइसीएल नगर कमिटीले नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । वाइसीएल नगर कमिटीका इन्चार्ज अजय परियारद्धारा हस्ताक्षरित ज्ञापनपत्र कोहलपुर नगरपालिकालाई समेत बोदार्ध दिइएको छ ।

ज्ञापनपत्रमा कोहलपुर नगरविकास समितिले पूर्व सहमति अनुसार गरिएको भाडादर घटाएर आफ्नो मनपरी ढङ्गले भाडादर कायम भन्दै असहमति जनाइएको छ । सिंगो नगरको सन्तुलित विकासमा जोड दिँदै निर्णय प्रक्रियामा ध्यान दिन भनिएको छ ।


‘बाँके जिल्ला कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको नगर विकास समितिको गत मंसिर २६ गते कोहलपुर नगर प्रमुख तथा नगर विकास समितिका अध्यक्ष पुर्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले पुर्व सम्झौता बमोजिम मासिक दररेटलाइ नै घटाएर नियम बिपरित उक्त जमिन अर्को फर्मलाइ उपलब्ध गराउने निर्णय शंकाष्पद छ । सम्झौता बिना सूचना मनोगत, पुर्वाग्रह ढंगले रद्द गरि पुनः ठेक्का आव्हान गरियो ।

यस्ता कार्यमा वाइसीएलको आपत्ति छ,’उक्त पत्रमा भनिएको छ । आगामी दिनमा यस्ता गलत निर्णय सच्याउन पनि माग गरिएको हो । यस्तै आगामी दिनमा निर्णय प्रक्रियामा ध्यान दिन र प्रतिष्पर्धात्मक रुपमा ठेक्का आह्वान गर्न आग्रह गरिएको छ ।

परिवर्तनकारी आन्दोलनको जगमा निर्माण भएको जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको स्थानीय सरकारसँग जनताका धेरै अपेक्षा रहेको भन्दै ती अपेक्षामा विस्तारै तुषारापात हुँदै गएको महशुस संगठनले गरेको जनाइएको छ । यस्तै स्थानीय सरकारले लागू गर्ने भनेका जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका विषयलाई प्राथमिकतामा राखी सुन्दर कोहलपुर, सफा कोहलपुर, सुशासनयुक्त कोहलपुर, शान्त कोहलपुर र समृद्ध कोहललपुर निर्माणको अभियानमा संगठनको पूर्ण साथ रहेको र सहकार्य गर्न तयार रहेको पनि बताइएको छ ।
ज्ञापनपत्र बुझ्दै नगर विकास समितिका अध्यक्ष आचार्यले आफ्नो निर्णयको बचाउ गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २१, २०७९     2:22:58 PM  |