17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

राप्ती सोनारीमा चितुवा मृत फेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र २१, २०७९  

कोहलपुर :  राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा चितुवा मृत फेला परेको छ । वडा नम्बर ६ को फत्तेपुरस्थित जंगलमा चितुवा मृत फेला परेको हो । राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गतको क्षेत्रमा उक्त चितुवा मृत अवस्थामा फेला परेको जनाइएको छ । वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलका अनुसार समितिको ब्लक नम्बर ३ को संरक्षित क्षेत्रमा चितुवा मृत फेला परेको थियो ।

‘हाम्रो वडामा चितुवा मृत फेला परेको हो । चितुवाको शरिर पुरै सडेको छ । सम्बन्धित निकायलाई खबर गरिसकेका छौँ ,’ उनले भने । उक्त चितुवा सामुदायिक वनमा दाउरा ल्याउन जाँदा स्थानीयले देखेका थिए । स्थानीयले वडा कार्यालयलाई खबर गरेपछि जनप्रतिनिधिसहितको टोली त्यहाँ पुगेको थियो ।

वडा अध्यक्ष खरेल चितुवा मरेको ठाउँ हेर्दा मरेको नभइ मारिएको हुन सक्ने बताएका छन् । उनका अनुसार चितुवा मरेको क्षेत्रमा चुरोटका ठुटा, जुत्ताको पाइला देखिएको छ । त्यहाँको प्रकृति हेर्दा सिकारीहरुले मारेको हुन सक्ने अनुमान गरिएको उनले बताए । पछि आफूहरुले डिभिजन वन कार्यालय बाँकेलाई जानकारी गराएर नेपालगन्ज पठाइएको उनले बताए ।

उक्त क्षेत्रमा अवैध रुपमा वन्यजन्तुको चोरीसिकारी हुने गरेको छ । केही समयअघि नीलगाईसमेत मृत फेला गरेको थियो । उक्त समुदायिक वनमा वन्यजन्तु चोरी सिकारी नियन्त्रण दल रहेपछि बेला बेलामा यस्ता घटना दोहोरिने गरेका छन् । यही क्षेत्रमा गत वर्ष पाटेबाघले तीन जनाको ज्यान लिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २१, २०७९     2:11:03 PM  |