नेपालगन्जका व्यवसायीहरु चुनावको तयारीमा



नेपालगन्ज ।

नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिको थपिएको कार्याकालको अवधि सकिन अझै चार महिना बाँकी छ । तर, नेपालगन्जका व्यवसायीहरुमाझ नयाँ कार्यसमितिको चुनावका लागि तयारी सुरु भइसकेको छ । वर्तमान कार्यसमितिको म्याद माघ १५ गते सकिएपछि विधानमा भएको व्यवस्थानुसार ६ महिना समय थपिएको थियो ।

यसअनुसार साउन महिनासम्म संघको वर्तमान कार्यसमितिले चुनाव गराउन पाउँछ । तर, असार अघि नै निर्वाचन हुनसक्ने भन्दै व्यवसायीका राजनीतिक आस्थागत संगठनहरुभित्र औपचारिक र अनौपचारिक तयारी सुरु भइसकेको छ । संगठनहरुभित्र कसको नेतृत्वमा चुनावमा जाने भन्ने विषय अहिले मुख्य छलफलको विषय भएको छ । उम्मेदवारका आकांक्षी व्यवसायीहरु आ–आफ्नो दाबेदारी लिएर राजनीतिक दलका नेताहरुदेखि व्यवसायिक संगठनका उपल्ला तहका नेताहरुसँग लबिङको कसरत गर्न थालेका छन् ।

यसपटकदेखि सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रणाली अपनाउन लागिएकोले पनि उम्मेदवारका आकांक्षीहरु पहिलेदेखि नै लबिङमा लागेका बताइएको छ । यसअघि अध्यक्ष र उपाध्यक्षको प्रत्यक्ष र अरु पदहरुको निर्वाचित सदस्यबाट टुंगो लगाइने गरिन्थ्यो । अब पहिले नै आकांक्षीहरुलाई निश्चित पद तोकेर उम्मेदवारीमा चित्त बुझाउनुपर्ने भएकोले संगठनहरुभित्र पनि सरगर्मी सुरु भएको हो ।

नेकपा एमाले सम्बद्ध व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले त सन्जय अग्रवालको नेतृत्वमा निर्वाचनमा जाने औपचरिक निर्णय नै गरिसकेको छ । अन्य पदहरुको उम्मेदवारबारे टुंगो नलागेपनि आन्तरिकरुपमा तयारी तीव्र पारिएको संगठनमा आबद्ध व्यवसायीहरु बताउँछन् ।

यसैगरी, नेपाली कांग्रेस सम्बद्ध व्यवसायीहरुको संगठन प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेबाट ललित रौनियार अध्यक्षको उम्मेदवार हुने करिब टुंगो लागिसकेको बताइएको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट सन्जय थापा पनि दाबेदार रहेकोमा उनी अहिले संघको अध्यक्ष रहेकोले रौनियारलाई उद्योग वाणिज्य संघमा समर्थन गर्ने करिब टुंगोमा पुगेको बताइएको छ ।

अध्यक्ष थापाले पनि संघबाट रौनियार नै दाबेदार रहेको बताए । ‘औपचारिक निर्णय त भएको छैन । तर, हाम्रो तर्फबाट ललितजी कै नेतृत्वमा चुनावमा जाने कुरा छ,’ थापाले प्रष्ट्याए । रौनियारले पनि आफ्नो नेतृत्वमा चुनावमा जाने अनौपचारिक टुंगो लागिसकेको बताए । थापाका अनुसार चुनावका लागि अहिले व्यवसायीहरुबीच भेटघाट र छलफल पनि बाक्लिएका छन् ।

नेकपा माओवादी निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनभित्र उम्मेदवारका बारेमा अन्य संगठनभन्दा कम छलफल भइरहेको पाइएको छ । राष्ट्रिय उद्योगी व्यवसायी संघबाट नेपालगन्ज उद्योग वाणिज्य संघका वर्तमान महासचिव चिरन्जीवी ओली, वसन्त लामिछाने र टंक धामी दाबेदार रहेका बताइएको छ ।

निर्वाचनको मितिबारे छलफल नै सुरु नभएको अवस्थामा उम्मेदवारीको बारेमा छलफल गर्नु हतार हुने उक्त संघ आबद्ध व्यवसायीहरु बताउँछन् । अन्तिम समयमा गठबन्धन पनि हुनसक्ने र त्यतिबेला नै निर्णय गर्दा प्रभावकारी हुने उनीहरुको तर्क छ । यस्तै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनभित्र पनि अहिले उम्मेदवारीका लागि आकांक्षीहरुले लबिङ सुरु गरिसकेका बताइएको छ ।

यद्धपि यस सँगठनमा पनि चुनावको सन्निकटको अवस्था मुल्यांकलन गरेर निर्णय लिनेतिर अनौपचारिक छलफल भइरहेको व्यवसायीहरु बताउँछन् । संगठनबाट सलाउद्धिन जसगढ र बिन्दु चर्तीमगर अध्यक्षको उम्मेदवारका लागि मुख्य दाबेदार रहेका बताइएको छ । संगठनका अध्यक्ष नन्दलाल वैश्यले निर्वाचनबारे अझै औपचारिक छलफल सुरु नभएको जानकारी दिए ।

पश्चिम नेपालको सबैभन्दा ठूलो औद्योगिक र व्यापारिक सहर नेपालगन्जमा हुने व्यवसायीहरुको छाता संगठनको चुनावलाई राजनीतिक दलहरुले पनि प्रतिष्ठा र राजनीतिक लोकप्रियता परीक्षण गर्ने अवसरको रुपमा लिने गरेका छन् । उम्मेदवारहरुको छनौटमा सम्बद्ध राजनीतिक दलका उपल्ला तहका नेताहरुको पनि हस्तक्षेप र प्रभाव हुने गरेको छ । त्यसैकारण आकांक्षीहरु नेताहरुसँग सम्पर्क र छलफलमा जुटिरहेका बताइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २० गते सोमबार