17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कोहलपुरमा चर्को व्याजदरविरुद्ध व्यवसायीहरुको भेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २०, २०७९  

कोहलपुर ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको ऋण कर्जामा घोषित ब्याजदरका विषयमा कोहलपुरका व्यवसायीहरुले संघर्षका कार्यक्रम गर्ने भएका छन् । कोहलपुरका विभिन्न व्यवसायीहरुसँग सम्बन्धित संघ संगठनहरुले आर्थिक मन्दीका कारण व्यवसायीहरु घरासायी अवस्थामा पुगेको भन्दै घोषित रुपमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने भएका हुन् ।

आइतबार कोहलपुरमा भेला भएका कोहलपुरका विभिन्न व्यवसायीसँग सम्बन्धित संघ संस्थाहरुको भेलाले बैंक तथा वित्तीय संस्थाहरुले लागू गरेको अनियन्त्रित ब्याजदरविरुद्ध चरणबद्ध कार्यक्रम गर्ने निर्णय गरेका हुन् । कोहलपुरमा व्यवसाय गरिरहेका ५० भन्दा बढी व्यवसायीहरुको सहभागितामा भएको बेलामा व्यवसायीहरुले ब्याजदर कम गराउनको लागि निर्णयक तथा शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताएका थिए ।

उनीहरुका अनुसार कोहलपुर क्षेत्रका व्यवसायीहरुको हकहितका लागि सम्पूर्ण व्यवसायीहरु एकजुट हुन आवश्यक छ । कोहलपुर क्षेत्रका व्यवसायीहरुको सहभागितामा सम्पन्न भेलाले आगामी दिनमा गरिने कार्यक्रमका विषयमा विभिन्न निर्णय गरेको छ ।

‘बैंक तथा वित्तीय संंस्थाहरुले प्रवाह गरेको ऋण कर्जामा घोषित व्याजदरमा असामान्य तवरले दिन प्रतिदिन व्याजदर बृद्धि गरी असुली गर्ने नीति लागु गरिएको छ । यसले उद्योगी व्यवसायी तथा सर्वसाधारण जनसमुदाय वर्तमान समयमा अधिक मार जोखिम वहन गर्न बाध्य भइ घरबार विहीन हुन सक्ने अवस्था आइ परेको छ ।

यस्तो जटिल परिस्थितिबाट सहज निकासका लागि सामाजिक सरोकार मञ्च कोहलपुरका संयोजक राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस क्षेत्र अन्तर्गत रहेका विभिन्न संघ संस्थाको प्रतिनिधित्व हुने गरी एक व्यवसायिक हकहित संरक्षण समिति गठन गर्ने निर्णय गरिएको छ,’ उक्त निर्णयमा भनिएको छ । यस्तै समितिद्धारा कार्यक्रम निर्धारण गरी कार्यान्वयन गर्नेपनि निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थारुले तोकेको अनियन्त्रित व्याजदर कम गराउने उद्देश्यले समिति गठन गरिएको हो । समितिले विशुद्ध व्यवसायिक हकहितमा काम गर्ने उनको भनाइ छ ।

उक्त आन्दोलनलाई उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारी,लुम्बिनी प्रदेश सदस्य नरेन्द्र प्रसाद शर्मा लगायतले भेलामा सहभागी भएरै एकेबद्धता जनाएका छन् । उक्त अवसरमा बोल्दै केन्द्रिय सदस्य अधिकारीले कोहलपुर क्षेत्रका व्यवसायीहरुको हकहितका लागि आफू सधै क्रियाशिल रहने बताए । उनका अनुसार राज्यले गलत नीतिका कारण व्यवसायीहरु आत्मदाह गर्ने र व्यवसाय बाटै पलायन हुने अवस्थामा पुगेका छन् ।

यस्तो समस्या समाधानका लागि राज्यले छिटो भन्दा छिटो पहलकदमी लिनुपर्ने उनले बताए । यस्तै उद्योग व्यापार संघ कोहलपुरका अध्यक्ष विष्णुप्रसाद खनालले व्यवसायीहरुको हकहितका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए । भेलाले व्यवसायविरोधी कर्जाका विभिन्न विरोध गर्ने गर्नेसमेत निष्कर्ष निकालेको छ । उक्त भेला ५० जना भन्दा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, चैत्र २०, २०७९     9:21:08 AM  |