बाँसगढी नगरपालिकालाई उद्योग वाणिज्य संघको ज्ञापन पत्र



मधुर पौडेल । बाँसगढी ।

बाँसगढी उद्योग वाणिज्य संघले विभिन्न माग राख्दै बाँसगढी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष बद्रिनाथ बरालसहितको व्यवसायीहरुको प्रतिनिधि टोलीले नगरप्रमुख खड्कबहादुर खड्कालाई १४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

अध्यक्ष बरालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा खुल्ला नाकाबाट हुने अवैध कारोबारलाई रोक्न प्रभावकारी कदम चाल्नुपर्ने, घुमन्ते,फिरन्ते तरिकाबाट भईरहेको व्यायापारलाई निस्तेज गरी संस्थागत स्वरुपमा व्यापार गर्न पहल गर्नु पर्ने,नगर भित्रका सरकारी तथा गैरसरकारी संस्थाहरुले सके सम्म नगरभित्र उपलब्ध हुने सामग्री खरिद गरि स्थानीय बजारलाई नै प्राथमिकता दिनु पर्ने नीतिगत निर्णय गर्नुपर्ने र स्थानीय सरकारको कर र जरिवानाले गर्दा धेरै व्यवसायी दर्ता तथा नविकरणबाट बन्चित हुनु परेकोले कर छुटको व्यवस्था गरि सबैलाई समेट्नुपर्ने माग गरिएको छ ।

अध्यक्ष बरालले वित्तीय संस्थाको ब्याजदर एक अंकमा झार्न सम्बन्धित ठाउमा पहल गर्नु पर्ने, आम नागरिक तथा व्यवसायीको बचत रकम सुरक्षित बनाउन भूमिका खेल्नु पर्ने र त्यसको लागि स्थानीय सरकारले अनुगमन गरिनुपर्ने तथा नगरभित्र सर्वसुलभ सार्वजनिक सौचालय तथा खानेपनिको व्यवस्था गर्नु पर्ने माग गरिएको जानकारी दिए ।

यस नगरलाई सफा सुन्दर तथा स्वस्थ राख्न क्लिन बाँसगढी,ग्रिन बाँसगढी भन्ने नाराले नियमित फोहोर उठाउने व्यवस्था गर्ने,व्यवसायिक प्रयोजनका लागि सडक छेउ छाउमा संचालित व्यापारलाई हटाई २५मिटर कायम गर्नुपर्ने, नगर भित्र चोरी बढिरहेको हुदा यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्ने,नगर भित्र जडान भएका सीसीटिभी क्यामेराको नियमित मर्मत गर्नुपर्ने तथा अरु मुख्य ठाउहरुमा पनि नयाँ सी सी क्यामेरा जडान गर्नुपर्ने माग गरिएको अध्यक्ष बरालको भनाइ छ ।

यस्तै ज्ञापन पत्रमा उज्यालो बाँसगढी अभियान अन्तर्गत भिडभाड हुने ठाउँहरुमा हाई मास्क लाइट जडान गर्नुपर्ने तथा विद्यामान लाईट तथा सोलारको मर्मत सम्भार गर्नुपर्ने, यस संघको भवन निर्माणको लागि रकम बिनियोजन गर्नुपर्ने, नगरभित्र लागुऔषधको दुव्र्यसनीहरुको आंशका बढिरहेको हुँदा त्यसलाई न्यूनिकरण तथा नियन्त्रण गर्न पहल गर्नुपर्ने उल्लेख गरिएको छ ।

उनका अनुसार नगरपालिकामा नयाँ व्यवसाय दर्ता हुँदा उद्योग वाणिज्य संघको अनिवार्य सिफारिस हुनु पर्ने माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै नगरप्रमुख खड्काले व्यवसायीहरुका माग महत्वपूर्ण भएको भन्दै आफूले लागू गर्ने प्रतिबद्धता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २० गते सोमबार