जेब्रा क्रसिङ रंग्याउँदै ट्राफिक प्रहरी



कोहलपुर ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक क्षेत्रमा रहेका जेब्रा क्रसिङ रंग्याउन सुरु गरेको छ ।

सडक सुधार अभियान अन्तर्गत विभिन्न संघ संस्थाहरुसँग मिलेर कार्यालयले कोहलपुर क्षेत्रमा रहेका विभिन्न सडकहरुमा जेब्रा क्रसिङ तथा सुरक्षा चिन्हरु रंगरोहन गर्न थालेको हो । सडक दुर्घटना न्युनिकरण तथा ट्राफिक सुरक्षाका लागि सुरक्षा चिन्ह निर्माण तथा रंगरोहन सुरु गरिएको कार्यालय प्रमुख तिलकबहादुर सुनारले बताए । यस्तै जिल्लाका अन्य स्थानमा पनि यो अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

उनका अनुसार बाँके जिल्लामा रहेको सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतनाका लागि कोहलपुर लगायतका क्षेत्रमा रहेका सडकहरुमा रंगरोहन सुरु गरिएको हो । बाँके जिल्लालाई सवारी दुर्घटना मुक्त बनाउने अभियान अन्तर्गत विभिन्न संघ–संस्था तथा विद्यालयहरुसँग मिलेर काम सुरु गरिएको बताए । उनले भने,‘ दुर्घटना न्युनिकरणका लागि अभियान थालिएको छ । यो अभियानमा सहयोगीहरु जोडिरहनु भएको छ । सबैको साथको आशासमेत गरेका छौँ ।’

सोही अभियान अन्तर्गत आइतबार कोहलपुर चौराहास्थित कार्यालयको अगाडी रहेको जेब्रा क्रसिङ क्षेत्रमा रंगरोहन गरिएको हो । भोलिन्टियर सोसाइटी अफ बाँकेको आयोजनामा उक्त क्षेत्रमामा पुरिएका जेब्रा क्रसिङमा सेतो रंग लगाउने काम सम्पन्न भएको उनको भनाइ छ ।

सोसाइटी र कार्यालय मिलेर आगामी दिनमा पनि यस्ता ट्राफिक सचेतना तथा दुर्घटना न्युनिकरण सम्बन्धि काम गरिने उनले बताएका छन् । सो कार्यका लागि सहयोग तथा समन्वय पञ्चमुखी अंग्रेजी माध्यमिक विद्यालयले गरेको कार्यालयले जनाएको छ । पञ्चमुखी स्कुलका सञ्चालक किशोरराज मल्लले विद्यालयले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको बताए ।

भोलिन्टियर सोसाइटी अफ बाँकेका अध्यक्ष दिपक कुमार शाहीका अनुसार संस्थाले भोलिन्टिएर रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै आएको छ । जेब्रा क्रसिङ रंगरोहन कार्यको लागि पनि विद्यालयको सहयोग मागिएको उनको भनाइ छ ।

विभिन्न निकायबाट सहयोग मागेर सार्वजनिक हितका लागि संस्थाले काम गर्ने उनको भनाइ छ । भोलिन्टियर सोसाइटी अफ बाँकेका सचिव दिनेशराज न्यौपानेका अनुसार सोसाइटीले बाँके जिल्लामा विभिन्न क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । उक्त कार्यमा कोहलपुर नगर प्रहरी र ट्राफिक प्रहरीको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २० गते सोमबार