बिक्री गर्न लिँदै गर्दा गाईको उद्दार



कोहलपुर, अपरिचित व्यक्तिहरुले शंकास्पद अवस्थामा बिक्री गर्न लागेको अवस्थामा गाईको उद्दार गरिएको छ । मंगलबार दुईजना व्यक्तिले गाईको मुख छोपेर कोहलपुरबाट पूर्वतर्फ लैजान लागेको अवस्थामा गाईको उद्दार गरिएको हो ।


मंगलबार दिउँसो १२ बजेतिर श्री राम जानकी गौशालाका संरक्षक भोलानाथ आचार्यले देखेका थिए । गाईको मुख छापेर दुईजना व्यक्तिले बाँधिएको अवस्थामा देखेपछि आफूले सोचपुछ गर्दा गाई छोडेर गएको उनले बताए । उनका अनुसार गौशाला संरक्षित गाईलाई त्यस्तो अवस्थामा देखेपछि सोधपुछ गर्दा उनीहरु भागेका थिए । ‘शंकास्पद अवस्थामा देखेपछि मैले रोकेको हो । पछि उनीहरु गाईलाई बेवारिसे अवस्थामा छोडेर भागेर गए । गाईको मुख छोपिएको थियो । गाईले हिँड्नसमेत सकिरहेको थिएन,’ आचार्यले भने ।

त्यसपछि गाई दिनभरि एनटिभी रोडमा बसिरहेको थियो । उनले रातभरि एउटा पोलमा राखिएको बताए । ‘बुधबार बिहान आउँदा गाई छटपटाइरहेको थियो । घाँस दिँदा पनि खाएन । मुखबाट फिज निकालिरह्यो,’ उनले भने, ‘उठ्नसमेत सकेको थिएन ।’ धेरै छटपटाएपछि बुधबार बिहान आफूहरुले भेली खुवाएको उनले बताए । चार महिनाको गर्भवतीसमेत रहेको गाईलाई उपचारका लागि सुरक्षा निकाय र पशु चिकित्सक बोलाएर उद्दार गरिएको थियो ।


कोहलपुर नगर प्रहरी, ईलाका प्रहरी कार्यालय र कोहलपुर नगरपालिकाअन्तर्गत पशु शाखाका पशु चिकित्सकको सहभागितामा उद्दारसँगै उपचार गरिएको थियो । पशु सेवा शाखाका डा. मनोज कार्कीले गाई गर्भवतीसमेत रहेकोले निकै कमजोर देखिएको बताए । ‘गाईको तापक्रम आवश्यकताभन्दा पनि निकै कम रहेको बताए । जनावरहरुमा न्यूनतम् १०२ डिग्री हुनुपर्छ तर, उक्त गाईको ९७ डिग्री मात्रै थियो । त्यो भनेको खतरनाक अवस्था हो,’ डा.कार्कीले भने, ‘यस्तो अवस्थामा गाईको तुरुन्त उपचार गर्नुपर्छ । गाई गर्भवतीसमेत रहेकोले खनिज पदार्थको कमी हुँदा यस्तो समस्या देखिएको हो ।’


खान नपाएपछि काप्ने, घुम्ने, उठ्न नसक्ने र आँखा कालो हुँदै जाने संकेत देखापर्ने र गाई त्यस्तै समस्या देखिएको उनले बताए । बेवारिसे अवस्थामा रहेको र बिरामी गाईलाई सडक मै उपचार गरिएको थियो । स्लाइन, एन्टीबायोटिकहरु लगाएर उपचार गरिएको पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक लोकेन्द्र बुढाले बताए । संरक्षक आचार्यले विभिन्न सहरबाट गाईहरु बथ गर्ने र बिक्री गर्ने प्रयोजनका लागि लुकीछिपी अन्यन्त्र लैजाने गरेको दाबी गरे ।

उनका अनुसार कोहलपुर नेपालगन्ज क्षेत्रबाट विरगन्जदेखि पूर्वको काँकरभिट्टासम्म बेच्न लैजाने गरिन्छ । उद्दार टोलीमा खटिएका नगर प्रहरी कोहलपुरका प्रमुख वीरबहादुर थापाले गाईहरुलाई शंकास्पदरुपमा लैजाने र बिरामी पार्ने जस्ता घटना गम्भीर रहेको भन्दै आफूहरुले आगामी दिनमा निगरानी गर्ने बताए । श्री रामजानकी गौशालाले कोहलपुर क्षेत्रमा रहेको गाईहरुको व्यवस्थापन गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १६ गते बिहीबार