नेपालगन्ज, नेपालगन्जस्थित भेरी अस्पतालमा अब एमडी–एमएसको पढाई हुने भएको छ । सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिएसँगै एमडिएमएस अध्यापनको ढोका खुलेको हो । चैत १२ गते मन्त्रीपरिषद्ले भेरीका साथै भरतपुर अस्पतालमा पनि एमडी–एमएस अध्ययनका लागि स्वीकृति दिने निर्णय गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजन पाण्डेले जानकारी दिए ।

अस्पतालका प्रमुख डा. बद्री चापागाईंले आफूहरुले साउन महिनाबाट पहल थालेको भएपनि न्याम्सको आंगिक अस्पताल कायम गरी शैक्षिक गतिविधि सञ्चालनका लागि गएको फागुन २२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको जानकारी दिए । त्यसको करिब तीन सातापछि सरकारले शैक्षिक गतिविधि सञ्चालनका लागि भेरी अस्पतालसँगै भरतपुर अस्पताललाई स्वीकृति दिएको हो । भेरी अस्पतालमा यसअघि पनि केही समय केही विषयहरुमा एमडी–एमएस कार्यक्रम अन्तर्गत रेजिडेन्टहरु पठाइएपनि त्यो नियमित हुन सकेको थिएन ।
अब विद्यार्थीहरु न्याम्स अन्तर्गत वीर अस्पतालमा भर्ना भएर अध्ययनका लागि भेरी विद्यार्थी भर्ना भएर अध्ययनका लागि भेरी अस्पतालमा आउने छन् । त्यसका लागि न्याम्सले निश्चित कोटा तोकेर पठाउने छ । त्यसअघि अस्पतालले एमडी–एमएस अध्यापन गराउन सक्षम चिकित्सकहरुको विवरण न्याम्समा पठाउनुपर्ने डा चापागाईले जानकारी दिए । एमडीएमएस अध्यापन गराउनका लागि चिकित्सकले अनुसन्धानमा काम गरेको हुनुपर्ने लगायतका मापदण्डहरु रहेका छन् ।
अस्पतालका प्रमुख डा. बद्री चापागाईंले अब अगाडिका प्रक्रियाका लागि अस्पतालले तदारुकताका साथ पहलकदमी लिने र सकेसम्म आसन्न शैक्षिक शत्रबाट नभए त्यसभन्दा पछिल्लोे शैक्षिक शत्रबाट अध्ययापन सुरु गर्ने उनी बताउँछन् । उनी सरकारको यस निर्णयले अस्पतालमा रहेका चिकित्सकहरुलाई उपचारमा मात्रै नभै अनुसन्धानतर्फ लाग्न पनि प्रेरित गर्ने बताउँछन् ।
संघीयस्तरको र थुप्रै पूर्वाधारहरु भएको अस्पताल भएपनि शैक्षिक कार्यक्रमहरु संचालन गर्न नपाएको भेरी अस्पतालमा अब चिकित्सकहरु आवासीय रुपमै अस्पतालमा बस्नेगरी एमडी–एमएस गर्ने भएपछि त्यसले सेवाको गुणस्तर पनि स्वतः सुधार गर्ने चापागाईं बताउँछन् । उनले यसअघि भेरी अस्पताललाई कस्तो मोडलमा अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको अवस्थामा एमडिएमस पढाईको लागि अनुमति पाउनु अस्पतालका लागि एक महत्वपूर्ण अवसर भएको बताए ।
एमडी एमएसको पढाई हुनु भनेको बिरामीलाई पढ्ने र उनीहरुको सफल उपचार गरेर पास गर्ने कोर्ष भएकोले सेवाको गुणस्तर पनि स्वतः सुधार हुने डा. चापागाई बताउँछन् । एमबीबीएस डाक्टरले बिरामीको हेरचाह गर्ने ठाउँमा अब एमडी अध्ययन गर्ने डाक्टरहरुले हेरचाह गर्नेछन् । डा चापागाईंका अनुसार चिकित्सकहरुको नतिजा बिरामीहरुको उपचारको आधारमा नै निर्धारण हुन्छ । त्यसकारण चिकित्सकहरुले बिरामीप्रति थप उत्तरदायी हुनैपर्ने बाध्यता हुन्छ । त्यसका साथै अस्पतालमा अब प्राज्ञिक र अनुसन्धानका गतिविधिहरु पनि बढ्ने चापागाईंको भनाइ छ ।
पछिल्लो समय भेरी अस्पतालले आफ्नो सेवा प्रवाहलाई गुणस्तरीय र सरलीकृत बनाउँदै लगेको छ । पाँच सय शैयाको अस्पताल बनाउने गरी अगाडि बढेको अस्पतालले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको डा. चापागाई बताउँछन् । अहिले अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको उनले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्